तराई नजिक सरेको न्यून चापीय रेखा: कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव तीव्र रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेर नेपालको तराई भू-भाग नजिकै अवस्थित छ। यसैका कारण कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा अहिले हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि साधारणतया बादल लाग्ने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा आज मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, मधेस, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुनेछ। तर, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराई भू-भाग र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा आज दिउँसो भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति पनि देशभर साधारणतया बदलीकै अवस्था रहने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने देखिन्छ।
हिमाली क्षेत्रका थोरै स्थानमा भने वर्षा र हिमपातको सम्भावना छ। राति विशेष गरी कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले वर्षा हुने क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने औंल्याएको छ। यस मौसमी प्रणालीका कारण जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउनु आवश्यक छ।
विभागले सम्भावित क्षतिबाट बच्नका लागि स्थानीय प्रशासन तथा सर्वसाधारण सबैलाई आवश्यक सावधानी अपनाउन र मौसम सम्बन्धी पछिल्ला सूचनाहरूमा नियमित अद्यावधिक रहन विशेष अनुरोध गरेको छ।






डिसी नेपाल





Facebook Comment