सहकारीका साना बचतकर्तालाई राहत: पाँच समस्याग्रस्त सहकारीबाट आजदेखि बचत फिर्ता गरिँदै
काठमाडौं। बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता प्रक्रिया सुरु गर्दैछ।
समितिले समस्याग्रस्त घोषित सिभिल, दर्शन, सुमेरु, नेशनल नमोबुद्ध र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताहरूको अधिकतम एक लाख रुपैयाँसम्मको बचत रकम फिर्ता गर्न लागेको हो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित विशेष कार्यक्रममा यस बचत फिर्ता कार्यको औपचारिक शुभारम्भ गर्नेछन्।
केही दिनअघि मुख्यमन्त्री बानियाँकै उपस्थितिमा भएको उच्चस्तरीय छलफलले यी सहकारीका साना बचतकर्ताको रकम तत्काल फिर्ता लैजाने महत्वपूर्ण निर्णय गरेको थियो।
यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गरिसक्ने गरी तीव्र तयारी भइरहेको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिएका छन्। समितिले रकम फिर्ता गर्नुअघि गर्नुपर्ने बचतकर्ताहरूको विवरण ‘भेरिफाइड’ गर्ने सम्पूर्ण प्राविधिक काम सम्पन्न गरिसकेको छ।
हालसम्म बचतकर्ताहरूलाई वितरण गर्नका लागि करिब नौ करोड रुपैयाँ संकलन भइसकेको छ। समितिको योजना अनुसार सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्ताहरूले प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म तथा दर्शन सहकारीका बचतकर्ताहरूले तत्कालका लागि १० हजार रुपैयाँसम्म बचत रकम फिर्ता पाउनेछन्। यस कदमबाट पाँचवटै सहकारीका गरी करिब तीन हजार जना साना बचतकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने समितिका सदस्य ढकालले स्पष्ट पारे।
समितिले साना बचतकर्ताको रकम फिर्ता गराउनका लागि ठूला ऋणीहरूमाथि पनि निगरानी र दबाब बढाउँदै लगेको छ। यसअघि गत जेठ २२ गते समितिले ती समस्याग्रस्त सहकारी संस्थाहरूबाट ठूलो रकम ऋण लिएर नतिर्ने ११४ जना ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको थियो।
समितिले सहकारी संस्थाबाट लिएको ऋण तत्काल चुक्ता गर्न ती ठूला ऋणीहरूलाई कडा आग्रह समेत गरिसकेको छ, जसका कारण आगामी दिनमा थप रकम संकलन भई बाँकी बचतकर्ताहरूको समेत रकम फिर्ता गर्न बाटो सहज हुने अपेक्षा गरिएको छ।






डिसी नेपाल





Facebook Comment