इरान घेर्ने ट्रम्पको रणनीति: हर्मुज स्ट्रेटमा नौसैनिक नाकाबन्दी, विश्वकै ढुवानी मार्ग संकटमा

डिसी नेपाल
३० असार २०८३ ६:५६

वासिङ्टन। रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिएको हर्मुज जलमार्गको नियन्त्रण र सुरक्षालाई लिएर अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानाहरूलाई लक्षित गर्दै लगातार तेस्रो रात पनि शक्तिशाली हवाई आक्रमण जारी राखेको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्ट्रकम) का अनुसार यो कारबाहीको मुख्य उद्देश्य हर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्नु र इरानी सैन्य क्षमतालाई कमजोर बनाउनु रहेको छर

इरानभित्र भीषण विस्फोट र प्रतिशोधको दाबी

इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी हवाई आक्रमणका कारण इरानका रणनीतिक टापुहरू किश, जाम, र कस्मका साथै बुसेहर र बन्दर अब्बास क्षेत्रमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन्।

सेन्ट्रकमले पछिल्ला आक्रमणहरूमा इरानका तटीय सुरक्षा चौकी, हवाई आक्रमणबाट बच्न बनाइएका बंकर, र जलसन्धि भएर गुड्ने जहाजहरूलाई रोक्न प्रयोग गरिने सैन्य संयन्त्रहरूलाई मुख्य निसाना बनाएको अलजजिराले उल्लेख गरेको छ।

यता इरानले पनि अमेरिकी आक्रमणको प्रतिकार गरेको दाबी गरेको छ। इरानी सेनाले कुवेतमा रहेका अमेरिकी सैन्य अखडा र समुद्रमा गुडिरहेका अमेरिकी सेनाका ‘जहाज’ माथि आक्रमण गरेको बताएको छ। यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई) ले जलसन्धिमा इरानी मिसाइल प्रहारबाट आफ्नो एउटा तेल ट्यांकरमा क्षति पुगेको र एक जनाको मृत्यु भएको पुष्टि गरेको छ।

ट्रम्पको चेतावनी: भूमिगत आणविक केन्द्र ‘पिकएक्स माउन्टेन’ निसानामा

युद्धविराम भंग भएपछि अमेरिकी सेना इरानको भित्री भूभागतर्फ केन्द्रित हुन लागेको यो पहिलो पटक हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य कारबाही जारी रहेको पुष्टि गर्दै अब इरानभित्रै रहेको सुदृढ भूमिगत आणविक केन्द्रलाई समेत निसाना बनाउन सक्ने कडा चेतावनी दिएका छन्। ट्रम्पले ‘पिकएक्स माउन्टेन’ भनिने इरानको आणविक केन्द्रलाई ध्वस्त पार्ने संकेत गरेसँगै यो द्वन्द्व थप भयानक र अनियन्त्रित मोडमा पुग्ने खतरा बढेको छ।

अमेरिका बन्यो ‘हर्मुज मार्गको अभिभावक’, मालवाहक जहाजलाई २०% शुल्क

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानी बन्दरगाहहरूमा पुनः ‘नौसैनिक नाकाबन्दी’ लगाउने घोषणा गरेका छन्। उनले लेखेका छन्-

“हर्मुज स्ट्रेट खुला छ र इरानका साथ वा ऊबिना पनि खुला रहनेछ। हामी ‘इरानी नाकाबन्दी’ पुन: लागु गर्दैछौँ, जसको उद्देश्य केवल इरानी जहाज वा उसका ग्राहकका जहाजलाई आउजाउ गर्न रोक्नु हो।”

अन्य देशका लागि यो जलमार्ग निष्पक्ष र खुला रहने उल्लेख गर्दै ट्रम्पले अबदेखि संयुक्त राज्य अमेरिकालाई ‘हर्मुज स्ट्रेटको संरक्षक’ भनिने घोषणा गरेका छन्. यस संवेदनशील समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न लाग्ने खर्च उठाउनका लागि अबदेखि यो जलमार्ग प्रयोग गर्ने प्रत्येक मालवाहक जहाजलाई २० प्रतिशत शुल्क (कर) लगाइने निर्णय अमेरिकाले गरेको छ, जुन व्यवस्था तुरुन्तै लागू हुने प्रक्रियामा छ। ट्रम्पको आदेशअनुसार मंगलबार राति ८ बजेदेखि नै इरानी बन्दरगाहमा नाकाबन्दी पुनः लागू भइसकेको छ।

इरानको कडा प्रतिवाद: ‘युद्धको आगोले सबैलाई निल्नेछ’

अमेरिकी राष्ट्रपतिको यस एकतर्फी घोषणा र हस्तक्षेपप्रति इरानको शीर्ष सैन्य मुख्यालय, ‘खातम अल-अन्बिया’ ले कडा आपत्ति जनाएको छ। इरानी सैन्य मुख्यालयले एक विज्ञप्ति जारी गर्दै हर्मुज जलडमरूमध्यको व्यवस्थापन र नियन्त्रणमा अमेरिकालाई कुनै पनि किसिमको हस्तक्षेप गर्न नदिने स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ-“हर्मुज स्ट्रेटमा अमेरिकाको बारम्बारको हर्कतले सम्पूर्ण क्षेत्रको सुरक्षालाई गम्भीर जोखिममा पारेको छ। हामीले अमेरिकालाई यो महत्त्वपूर्ण समुद्री मार्ग नियन्त्रणमा लिन कहिल्यै अनुमति दिएका छैनौँ र दिने पनि छैनौँ।”

इरानी सेनाले अमेरिकी नाकाबन्दीका लागि जुनसुकै देशले गर्ने सहयोगलाई ‘इरानको सार्वभौमसत्ताविरुद्धको युद्ध’ मानिने चेतावनी समेत दिएको छ। द्वन्द्व अझ फैलिएमा यस क्षेत्रका सबै देशहरू युद्धको चपेटामा पर्ने चेतावनी दिँदै इरानले “युद्धको आगोले यस क्षेत्रका सबै देशलाई निल्ने” भन्दै अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराएको छ।

विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्गमध्येको एक मानिने हर्मुज जलसन्धिमा दुई शक्ति राष्ट्रबीच बढेको यो टकरावले विश्व बजारमा इन्धनको मूल्य र समग्र विश्व अर्थतन्त्रमै गम्भीर असर पार्ने अनुमान विज्ञहरूले गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *