न्यायको खोजीमा माइतीघरको सडकमा देविका: ‘म मर्न होइन, बाँच्ने आधार खोज्न काठमाडौं आएकी हुँ’

डिसी नेपाल
३० असार २०८३ ८:०३

काठमाडौँ। काठमाडौंको माइतीघर मण्डला परिसरमा दिनभर जसो मानिसहरूको आवतजावत चलिरहन्छ। कोही आफ्ना मागसहित आउँछन् त कोही आवाज उठाउन सडक रोज्छन्। यहाँ प्रायः मागसहितका ब्यानर र प्लेकार्डहरू छुट्दैनन्।

घामपानीबाट जोगिन लहरै लगाइएका टेन्टमध्ये एउटामा बसेर एक महिला आफ्नो पीडा सुनाइरहेकी छन्। आँखामा आँसु, मनमा पीडा र आवाजमा आक्रोश बोकेर न्यायका लागि काठमाडौँको सडकमा उत्रिएकी ती महिला हुन् मोरङ सुन्दरहरैँचा-७ की देविका खनाल। एउटा भयानक सडक दुर्घटनाले आफ्नो जीवन नै परिवर्तन गरिदिएको बताउने देविका अहिले न्याय खोज्दै माइतीघरको सडकमा संर्घष गरिरहेकी छिन्।

२०८१ साल फागुन २२ गते सुनसरीको रामधुनी नगरपालिका-३ मा भएको दुर्घटनाले देविकाको जीवनको बाटो नै मोडिदिएको थियो। देविकाका अनुसार उनलाई ठक्कर दिने गाडी इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापाको हो।

वडाध्यक्ष थापाले दुर्घटनापछि आफूलाई आवश्यक उपचार नगराएको, घटनाको जिम्मेवारीबाट पन्छिएको र अपाङ्ग अवस्थामा पुर्‍याएर बेवास्ता गरेको उनको गम्भीर आरोप छ। सामान्य जीवन बिताइरहेकी देविका अहिले आफैँ हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छन्।

दुर्घटनाका कारण उनको कम्मरमुनिको भागमा गम्भीर चोट लागेको छ। पटक–पटक शल्यक्रिया गरिए पनि उनको शरीर पूर्ण रूपमा निको हुन सकेको छैन। दुर्घटना आफैँमा कसैको नियन्त्रणमा नहुने भए पनि त्यसपछि देखाइने जिम्मेवारी र मानवीय व्यवहार महत्त्वपूर्ण हुने देविका बताउँछिन्।

देविकाको जीवनमा यो दुर्घटना आउनुअघि पनि सङ्घर्षका दिनहरू कम थिएनन्। उनी एक एकल महिला हुन्। अहिले उनको काँधमा घरको जिम्मेवारी, १३ वर्षीया छोरीको भविष्य र आफ्नो उपचारको ठूलो चिन्ता थपिएको छ। काम गरेर परिवार पाल्दै आएकी उनी अहिले अरूको सहयोगमा निर्भर हुनुपर्दा अत्यन्तै मर्माहत छिन्।

आफूले कुनै ठूलो रकमको माग नगरेको उल्लेख गर्दै उनले आफ्नो मुख्य माग उचित उपचार र दोषीमाथि कानुनी कारबाही मात्रै रहेको स्पष्ट पारेकी छन्। दुर्घटनापछि मिलापत्रका लागि पाँच लाख रुपैयाँको प्रस्ताव आए पनि उनले आफ्नो जीवन र स्वास्थ्यलाई पैसासँग तुलना गर्न नसकिने भन्दै सो प्रस्ताव अस्वीकार गरिदिएकी थिइन्।

न्यायका लागि प्रहरी प्रशासनदेखि विभिन्न निकाय धाउँदा पनि अपेक्षित सहयोग नपाएको देविकाको गुनासो छ। सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न समेत आनाकानी गरेपछि उनले उच्च अदालत मोरङको ढोका ढकढक्याउनु परेको थियो। अदालतको आदेशपछि मात्रै मुद्दाको कानुनी प्रक्रिया अघि बढेको थियो।

गत चैत ३० गते दुई पक्षबीच उपचार खर्च बेहोर्ने, अस्पताल लगेर पूर्ण उपचार गराउने र छोरीलाई १२ कक्षासम्म पढाउने लिखित सम्झौता भए पनि वडाध्यक्ष पक्षले त्यसलाई कार्यान्वयन नगरेको उनको आरोप छ। अहिले गृह मन्त्री सुधन गुरुङले न्याय दिलाउने आश्वासन दिएकाले सोही भरोसामा उनी माइतीघरमा न्यायको पर्खाइमा छिन्।

उनी राज्यसँग लड्न नभई राज्यबाट न्याय पाउन र आफ्नो जीवन बचाउन काठमाडौँ आएको बताउँछिन्। यता, यस विषयमा आरोपित वडाध्यक्ष सुमन थापाको तर्फबाट भने कुनै आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *