साउदी राजदूतसँग उद्योग समितिका सभापति अन्सारीको भेट, श्रमिक समस्या र लगानीबारे छलफल
काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखर बीच भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल र साउदी अरबबीचको करिब पाँच दशक लामो ऐतिहासिक कूटनीतिक सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो।
दुई देशबीचको आपसी हितलाई केन्द्रमा राखेर उद्योग, वाणिज्य तथा श्रम क्षेत्रसँग कूटनीतिक सम्बन्धलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा दुवै पक्षबीच विस्तृत छलफल भएको थियो।
छलफलमा साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका समस्या, म्यानपावर कम्पनी तथा बिचौलियाबाट हुने ठगी, सीपको अभाव र सम्झौताअनुसारको काम नपाउने अवस्थालाई न्यूनीकरण गर्ने विषय उठेको थियो। यस क्रममा साउदी सरकारले श्रमिकको सीप परीक्षण र व्यवस्थापनका लागि ल्याएको ‘एसभीपी’ कार्यक्रमबारे राजदूतले जानकारी गराएका थिए।
सभापति अन्सारीले साउदी जाने नेपाली श्रमिकको सुरक्षा, रोजगारीको सुनिश्चितता, सीप विकास र सहजीकरणका लागि आवश्यक नीतिगत सुधार गर्न संसदीय समितिले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेटमा साउदी अरबबाट नेपालमा हुन सक्ने लगानीका सम्भावनाबारे पनि छलफल भएको थियो। नेपाल पर्यटन क्षेत्रमा ठूलो सम्भावना बोकेको मुलुक भएकाले साउदी सरकार तथा लगानीकर्ताहरू नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक रहेको राजदूतले बताएका थिए।
साउदी लगानी आकर्षित गर्न आवश्यक नीतिगत सुधार र सहजीकरणका लागि सभापति अन्सारीले राजदूतमार्फत साउदी सरकार र लगानीकर्तालाई विश्वास दिलाउन आग्रह गरे।
त्यसैगरी व्यापार, पर्यटन, वातावरण, हवाई सम्पर्क तथा सांस्कृतिक सम्बन्धका विषयमा समेत छलफल भएको थियो। विशेषगरी प्रत्येक वर्ष नेपालबाट मक्का–मदिना जाने हज यात्रीहरूको व्यवस्थापन, उनीहरूले भोग्ने समस्या समाधान र यात्रालाई थप व्यवस्थित बनाउने विषयमा पनि कुराकानी भएको जनाइएको छ।
भेटका क्रममा आगामी दिनमा नेपाल र साउदी अरबका संसदीय समितिहरूबीच सहकार्य र संवादलाई थप विस्तार गर्ने विषयमा समेत जोड दिइएको थियो।






डिसी नेपाल





Facebook Comment