होटल व्यवसायीलाई प्रधानमन्त्रीको आश्वासन: ‘पर्यटन क्षेत्रमा द्रुत काम हुँदैछ, चिन्ता नगर्नुस्’

डिसी नेपाल
३१ असार २०८३ १४:५९

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति सरकारले द्रुत गतिमा काम अघि बढाइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले वर्तमान सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर ढुक्कसँग काम गर्न अनुरोध गरे।

उनले व्यवसायीहरूलाई कानुनको पूर्ण पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा अनिवार्य दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक-निजी साझेदारी (पिपिपी) ढाँचामा गर्न सकिने सहकार्यबारे ठोस अध्ययन अघि बढाउन समेत आग्रह गरे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल समेत सहभागी भएको उक्त छलफल कार्यक्रममा हानका पदाधिकारीहरूले मुलुकको होटल उद्योग हाल वार्षिक ४० लाख पर्यटकलाई गुणस्तरीय सेवा दिन सक्षम रहेको जानकारी गराएका थिए।

हाल वार्षिक करिब १२ लाख मात्र पर्यटक भित्रिरहेका अवस्थालाई औँल्याउँदै व्यवसायीहरूले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा उल्लेख्य वृद्धि हुने र यसले नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने दाबी गरे।

उनीहरूले मुलुकलाई आरोग्य पर्यटन (वेलनेस टुरिजम), ‘विवाह गन्तव्य’ (वेडिङ डेस्टिनेसन) र सीमापार पर्यटनका रुपमा विकास गर्न प्रचुर सम्भावना रहेको तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए।

व्यवसायीहरूले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह विद्युत् महसुलमा सहुलियत दिन र साना तथा मझौला होटलका लागि २५ श्ययासम्मको संक्षिप्त वातावरणीय मूल्यांकन अध्ययन अव्यावहारिक भएकाले त्यसलाई ५० श्ययासम्म कायम गर्न माग गरे। यसैगरी उनीहरूले अन्तर्राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन तथा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको सेवामा व्यापक सुधार गर्न सरकारसँग अनुरोध गरे।

वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा प्रविधि हस्तान्तरणअन्तर्गत ‘ट्रेडमार्क’ प्रयोगको ‘रोयल्टी’ रकम प्रचलित करबाहेक कूल बिक्री मूल्यको पाँच प्रतिशतभन्दा नबढ्ने व्यवस्थालाई संशोधन गरी आपसी समझदारीमा मूल्य कायम गर्ने प्रबन्ध मिलाउन र होटल व्यवसायसँग सम्बन्धित अन्य पुराना कानुन संशोधन तथा पुनरावलोकन गर्न समेत उनीहरूले माग राखेका छन्।

नेपाललाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्न विदेशी पर्यटकका लागि गरगहना ल्याउने प्रक्रिया सहज बनाउन र आरोग्य पर्यटनको प्रवर्द्धनका लागि ‘फोटो-भिडियो’मा मात्र सीमित नभई ‘फुल स्टोरी टेलिङ’ सहितको विशेष ‘प्याकेज’ र विज्ञहरूको व्यवस्था गर्न उनीहरूले सरकारसमक्ष नीतिगत प्रस्ताव पेस गरेका थिए।

उक्त छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यद्वय जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *