सातै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस, नयाँ गठबन्धनको तयारी

डिसी नेपाल
३१ असार २०८३ १७:१९

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। एमालेसँगको समीकरण तोडेर नयाँ राजनीतिक गठबन्धन निर्माणको दिशामा अघि बढ्ने निष्कर्षमा कांग्रेस पुगेको हो।

कांग्रेसका एक पदाधिकारीले एमालेसँगको वर्तमान सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुगिएको पुष्टि गर्दै नयाँ राजनीतिक विकल्पमा छलफल भइरहेको बताएका छन्। ‘एमालेसँगको गठबन्धन तोड्ने निष्कर्षमा पुगेका छौँ, कोर्स त्यही दिशामा अगाडि बढेको छ,’ ती पदाधिकारीले भने।

जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण र प्रदेश सरकारमा एमालेको कार्यशैलीप्रति बढेको असन्तुष्टि नै सहकार्य तोड्नुको मुख्य कारण रहेको बताइएको छ। यो निर्णयसँगै कांग्रेसले एमाले सहभागी भएका प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ।

यसै क्रममा कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले बुधबार सामूहिक राजीनामा दिइसकेका छन्। यता सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पनि बुधबार नै सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

एमालेसँगको सहकार्य टुंगिएसँगै कांग्रेस अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग नयाँ समीकरण बनाउने तयारीमा जुटेको छ। कांग्रेसका पदाधिकारीका अनुसार नेकपासँग आपसी समझदारीमा सरकार गठनको प्रक्रिया अघि बढाइनेछ। सातै प्रदेशमा समझदारीका आधारमा सरकारको नेतृत्व बाँडफाँट गर्ने तयारी रहेको र सहमति नजुटेको खण्डमा विपक्षमा बस्ने रणनीति कांग्रेसको रहेको छ।

यसअघि मंगलबार कांग्रेस सभापति गगन थापा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा समेत यस विषयमा गम्भीर छलफल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *