दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ

डिसी नेपाल
३१ असार २०८३ १८:२४

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनियताको शपथ गराएका छन्।

मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी र रजिष्ट्रारलाई डा. भीमबहादुर चन्दलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

आज शिक्षा मन्त्रालयमा भएको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा. डा. र जोशीलाई उपकुलपतिमा तथा डा.चन्दलाई रजिष्ट्रारमा आजै नियुक्त गरेको थियो।

सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत सभामा सिलबन्दीमा रहेको योग्यताक्रमसहितको प्रतिवेदन सभामा पेश गरेका थिए।

मन्त्री पोखरेलले मेडिकल क्षेत्रका १० जना विज्ञको सिफारिस प्रक्रिया १० जना मेडिकल क्षेत्रकै विज्ञबाट गरिएको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको बताए। उनले उक्त मूल्याङ्कनका आधारमा सिफारिस समितिले योग्यताक्रम निर्धारण गरी नाम सिफारिस गरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गरे।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ। बैठकमा सहकुलपतिद्धय शिक्षामन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता उपस्थिति थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *