मधेशका गृहमन्त्री महतोद्वारा मृतक विवेक मण्डलको परिवारसँग भेट, रोजगारी र आर्थिक सहयोगको प्रतिबद्धता
सर्लाही। मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सर्लाहीको गोडैता नगरपालिका-१०, सिसौटियाका स्वर्गीय विवेक मण्डलको शोकसन्तप्त परिवारसँग भेटघाट गरेका छन्। मन्त्री महतोले मंगलबार साँझ मण्डलको निवासमै पुगेर परिवारजनलाई सान्त्वना दिएका हुन्।
भेटका क्रममा मन्त्री महतोले विवेकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरे। उनले यस दुःखद घडीमा प्रदेश सरकार पीडित परिवारको साथमा रहने र आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए।
मन्त्री महतोले मृतक विवेककी श्रीमतीलाई प्रदेश सरकारमार्फत रोजगारी उपलब्ध गराउने घोषणा गरे। आफ्नै क्षेत्रका नागरिकको पीडामा सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले परिवारलाई हरसम्भव सहयोग गरिने स्पष्ट पारे।
गत शुक्रबार विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। शरीरको ८५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा सोमबार राति करिब २ बजे उनको दुःखद निधन भएको हो।
विवेकको निधनसँगै उनको परिवार गम्भीर आर्थिक संकटमा परेको छ। उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् भने उनका दाजु वैदेशिक रोजगारीका लागि कतारमा छन्। पारिवारिक स्रोतका अनुसार गाउँघर तथा बैंकबाट लिएको गरी परिवारमाथि करिब ३५ लाख रुपैयाँ ऋणको भार अझै बाँकी छ।
यसैबीच, गोडैता नगरपालिकाले पीडित मण्डल परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। नगर प्रमुख देवेन्द्र यादवले तत्काल २५ हजार रुपैयाँ नगद परिवारलाई हस्तान्तरण गरिसकिएको र नगरपालिकाको खाता सञ्चालनमा आएलगत्तै बाँकी ७५ हजार रुपैयाँ उपलब्ध गराइने जानकारी दिए।
आर्थिक संकटमा परेको परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोगको निर्णय गरिएको नगर प्रमुख यादवले बताए। मण्डलको निधनपछि प्रदेश सरकार र स्थानीय तहबाट सहयोगको प्रतिबद्धता आएसँगै पीडित परिवारले दीर्घकालीन आर्थिक सहायता, रोजगारी तथा ऋण व्यवस्थापनमा राज्यबाट थप ठोस सहयोगको अपेक्षा गरेको छ।






डिसी नेपाल





Facebook Comment