नेपालको सार्वजनिक शिक्षा सुधारमा जापानको सहयोग प्रतिबद्धता

डिसी नेपाल
३२ असार २०८३ १३:३६

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा नेपाल र जापानबीचको लामो समयदेखिको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ।

साथै, दुवै देशका प्रतिनिधिबीच आगामी दिनमा नेपालको शिक्षा क्षेत्रको विकास र सुधारका लागि गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे विस्तृत विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले नेपाल र जापानबीचको ऐतिहासिक एवं विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

सरकार सार्वजनिक शिक्षा सुधारका लागि दृढ प्रतिबद्धताका साथ अघि बढिरहेको उल्लेख गर्दै उनले चुनौतीहरूलाई स्वीकार गरेर नै सुधारको प्रक्रिया सुरु हुने बताए।

शिक्षामा गरिएको लगानीको प्रतिफल प्राप्त हुन समय लाग्ने भए पनि विद्यालयको भौतिक पूर्वाधार मूल्यांकनको काम अघि बढिसकेको र सोही आधारमा आगामी दिनमा बजेट विनियोजन गरिने उनको भनाइ थियो।

मन्त्री पोखरेलले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषणलगायतका क्षेत्रमा जापान सरकारसँग सहकार्यको प्रस्ताव गरे्र। उनले जापानमा विद्यालय तहदेखि नै विद्यार्थीलाई सिकाइने सांस्कृतिक मूल्य र अनुशासनको अभ्यास नेपालका लागिसमेत अनुकरणीय हुने धारणा राखे।

जापानी राजदूत तोरुले नेपालको सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि सरकारले थालेका प्रयासहरूको प्रशंसा गर्दै त्यसमा जापान सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

उनले विद्यालय शिक्षाको सुधार र सुशासनका लागि दीर्घकालीन राजनीतिक प्रतिबद्धता र सक्षम कर्मचारीतन्त्र आवश्यक हुने उल्लेख गर्दै गुणस्तरीय शिक्षाका लागि शिक्षक तालिम अपरिहार्य रहेको बताए।

शिक्षा क्षेत्रमा हुने सुधारले परिणाम दिन समय लाग्ने भएकाले प्रारम्भिक चरणमै दृढता आवश्यक रहेकोमा जोड दिँदै राजदूत तोरुले नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण तथा पूर्वाधार विकासलाई गति दिन सके जापानी निजी क्षेत्रको नेपालप्रतिको आकर्षण अझ बढ्ने उल्लेख गरे।

उनले डिजिटल पूर्वाधार विस्तार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको भन्दै सूचना प्रविधि क्षेत्रमा समेत नेपाल-जापान साझेदारीलाई अझ मजबुत बनाउन सकिने धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *