बितेका तीन महिनामा विपद्बाट १६० जनाको मृत्यु, आगलागी र सर्पदंशको जोखिम उच्च
काठमाडौं। नेपालमा विगत तीन महिनाको अवधिमा विपद्का कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ।
राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार गत वैशाख १ गतेदेखि असार ३२ गतेसम्म देशभर कुल तीन हजार २९६ वटा विपद्का घटना घटेका छन्। यी घटनाहरूमा परी १६० जनाले ज्यान गुमाएका छन् भने दुई जना बेपत्ता र ९४५ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार यस अवधिमा चार हजार ३७५ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्।
यस त्रैमासिक अवधिमा सबैभन्दा धेरै क्षति आगलागीका घटनाबाट भएको छ। देशभर कुल ८९७ पटक आगलागीका घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने १०९ जना घाइते र ९९० परिवार प्रभावित भएका छन्।
यसैगरी, गर्मी र वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना पनि निकै बढेका छन्। तीन महिनामा सर्पदंशका ५१४ घटना दर्ता भएका छन्, जसबाट सबैभन्दा बढी अर्थात् ३८ जनाको मृत्यु भएको छ भने ४७९ जना घाइते भएका छन्।
प्राधिकरणको प्रतिवेदन अनुसार हुरीबतास, पहिरो र चट्याङका कारण पनि ठूलो क्षति भएको छ। हुरीका ४७७ घटनामा १३ जना र पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु भएको छ।
त्यस्तै, चट्याङका २२३ घटनामा २४ जनाले ज्यान गुमाएका छन् भने १२० जना घाइते भएका छन्। वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु र १०३ जना घाइते भएको विवरण सार्वजनिक भएको छ।
वर्षायाम सक्रिय भएसँगै बाढी र भारी वर्षाका घटना पनि थपिएका छन्। १६१ वटा बाढीका घटनामा नौ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। भारी वर्षाका १५३ घटनामा चार जनाको ज्यान गएको छ।
हिमाली क्षेत्रमा लेक लाग्ने (अल्टिच्युड सिक्नेस) ५५ वटा घटनामा २१ जनाको मृत्यु भएको छ भने ३५ जना अझै अस्वस्थ रहेका छन्। यसबाहेक ढुङ्गा खसेर एक घटनामा दुई जना, वन डढेलोका १९१ घटनामा एक जना र हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।






डिसी नेपाल





Facebook Comment