लगातार वर्षापछि देशभरका राजमार्ग प्रभावित, तीन प्रमुख सडक अझै पूर्ण रूपमा अवरुद्ध
काठमाडौं । लगातारको वर्षा, पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै तीन प्रमुख सडकखण्ड अझै पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ भने केही सडकमा समय निर्धारण गरेर मात्रै सवारी सञ्चालन भइरहेको जानकारी दिएको छ।
प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा बन्द भएको छ। उक्त क्षेत्रमा यात्रा गर्ने सवारी साधनलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
त्यसैगरी, अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलास्थित सालझण्डी–ढोरपाटन सडकखण्ड माथिबाट ढुङ्गा खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको नेपाल प्रहरीले जनाएको छ।
यसैबीच, पहिरोका कारण अवरुद्ध भएको मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ भने शुक्रबार बिहान ६:२० बजेदेखि पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ। सडक खुलाइएसँगै सो मार्ग हुँदै सवारी आवागमन पुनः सुचारु भएको प्रहरीले जनाएको छ।
वर्षायाममा सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइने व्यवस्था कायम गरिएको छ।
त्यस्तै, मकवानपुरस्थित कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। यो व्यवस्था वर्षायाममा सडक सुरक्षा सुनिश्चित गर्न लागू गरिएको हो।
नेपाल प्रहरीले लगातारको वर्षासँगै सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित जिल्ला प्रशासन, सडक विभाग वा ट्राफिक प्रहरीसँग सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा अनावश्यक यात्रा नगर्न र मौसमको अवस्थालाई ध्यानमा राखेर सुरक्षित यात्रा गर्न पनि अनुरोध गरिएको छ।






डिसी नेपाल





Facebook Comment