हुलाक सेवाको आधुनिकीकरण र सरकारी कागजात घरदैलोमै पुर्याउने अभियान तीव्र, ७६ जिल्लामा विस्तार
काठमाडौं। सरकारी सेवाहरू नागरिकको घरदैलोमै उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको ‘गभर्नमेन्ट कुरियर’सेवा नेपालका ७६ जिल्लामा विस्तार भएको छ।
सरकारी कागजातहरू सुरक्षित र सहज रूपमा नागरिकसम्म पुर्याउने कार्यलाई थप व्यवस्थित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको हुलाक सेवा विभागले हुलाक सेवाको तीव्र आधुनिकीकरण गरिरहेको छ।
०८२ चैत २३ गते सिराहा जिल्लाबाट सुरु भएको यस अभियानले छोटो अवधिमै उल्लेख्य सफलता हासिल गर्दै हाल देशका अधिकांश भूभाग समेटिसकेको छ।
हुलाक सेवा विभागले सार्वजनिक गरेको प्रगति विवरण अनुसार २०८३ असार मसान्तसम्ममा २ लाख ३३ हजार २४९ थान राहदानी जिल्ला प्रशासन कार्यालयहरूमा ढुवानी गरिएको छ भने ७ हजार ३९६ थान राहदानी हुलाकमार्फत सिधै नागरिकको घर-घरमै पुर्याइएको छ।
यस्तै, ८ लाख ७४ हजार १४५ थान सवारी चालक अनुमति पत्र (लाइसेन्स) जिल्ला यातायात कार्यालयहरूमा ढुवानी गरिएको छ भने १ हजार ९३ थान लाइसेन्स हुलाकमार्फत नागरिकको घरदैलोमै वितरण गरिएको छ।
यसका साथै २६३ थान शैक्षिक प्रमाणपत्रको ढुवानी तथा वितरण सम्पन्न भएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सम्झौता अनुरूप १७ वटा विभिन्न अस्पतालहरूमा १ हजार ३६७ वटा स्वास्थ्य नमुना सफलतापूर्वक ढुवानी गरिएको छ।
हुलाक सेवालाई अझ भरपर्दो, समयमै सेवा प्रवाह गर्ने र थप प्रभावकारी बनाउन विभागले विभिन्न नयाँ रणनीतिक साझेदारीहरू गरेको छ। राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य बिमा बोर्डसँग भएका छुट्टाछुट्टै सम्झौताहरू मार्फत देशभर स्वास्थ्य सामग्रीहरूको ढुवानी कार्य निरन्तर भइरहेको छ।
त्यस्तै, नेपाल टेलिकमबाट वितरण गरिने सिमकार्ड लगायतका सामग्री ढुवानी गर्न हुलाक सेवा विभाग र टेलिकमबीच सम्झौता सम्पन्न भई ढुवानी सुरु भइसकेको छ।
सेवाको प्रभावकारिता र गति बढाउन विभागले यति एयरलाइन्ससँग हवाई मार्गबाट आन्तरिक डाँक ढुवानीका लागि सम्झौता गरी सेवा सुचारु गरेको छ भने खुला विश्वविद्यालयका विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र घरदैलोमै पुर्याउन विश्वविद्यालयसँग पनि सम्झौता गरेको छ।
अन्तर्राष्ट्रिय रूपमा सेवा सुदृढ गर्न विभागले युनिभर्सल पोस्टल युनियनको प्रावधान अनुरूप नेपालको ‘लेटर पोस्ट कम्पेडिएम’ र ‘पार्सल पोस्ट कम्पेडिएम’ अद्यावधिक गरी प्रकाशन गराएको छ भने बेल्जियमस्थित नेपाली दूतावासको समन्वयमा नेदरल्यान्ड्स पोस्ट र नेपाल पोस्टबीचको हुलाक ढुवानी सहज बनाउने विषयमा समेत छलफल अघि बढेको छ।
यसैगरी, आन्तरिक तवरमा ललितपुरको गोदावरी नगरपालिकास्थित चापागाउँमा दक्षिणी ललितपुर र मकवानपुर क्षेत्रको डाँक सेवा सहज बनाउन नयाँ हुलाक काउन्टर स्थापना गरिएको छ।
हुलाक प्रणालीलाई प्रविधिमैत्री बनाउन र कार्यसम्पादन थप चुस्त राख्नका लागि हाल विभागले आन्तरिक नियन्त्रण प्रणालीको मस्यौदा र अन्तर्राष्ट्रिय डाँक लेखा प्रणाली सुदृढीकरण सम्बन्धी अध्ययन प्रतिवेदन समेत तयार पारिसकेको छ।






डिसी नेपाल





Facebook Comment