‘मास्टर्नी’ चलचित्रको गीतप्रति नेपाल शिक्षक महासंघको तीव्र आपत्ति, तत्काल हटाउन माग

डिसी नेपाल
१ साउन २०८३ ११:३८

काठमाडौं। नेपाली चलचित्र ‘मास्टर्नी’ को भर्खरै सार्वजनिक भएको एक गीतलाई लिएर नेपाल शिक्षक महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तीव्र आपत्ति प्रकट गरेको छ।

महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त गीतमा प्रयोग गरिएका शब्द र दृश्यहरूले महिला शिक्षक मात्र नभई समग्र शिक्षण पेसाकै मर्यादा र गरिमामाथि हिलो छ्याप्ने काम गरेको आरोप लगाएको छ।

सार्वजनिक विधामा आउने सिर्जनाहरू समाजप्रति उत्तरदायी हुनुपर्नेमा उल्टै समाज निर्माण गर्ने शिक्षक वर्गलाई नै अमर्यादित रूपमा चित्रण गरिनु निन्दनीय भएको महासंघको ठहर छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा संयुक्त रूपमा हस्ताक्षरित उक्त विज्ञप्तिमा चलचित्रको सो गीतमा महिला शिक्षकप्रति लक्षित गरी अत्यन्तै भ्रामक, अमर्यादित शब्द र भाव संयोजन गरिएको उल्लेख छ।

शिक्षक र शिक्षण पेसाको सामाजिक प्रतिष्ठामा गम्भीर प्रहार गर्ने यस्ता सामग्रीहरू तत्काल बन्द गर्न तथा चलचित्रमा समावेश नगर्न महासंघले निर्माण पक्षसँग जोडदार माग गरेको छ।

यदि यस आग्रहलाई बेवास्ता गरी गीतलाई यथावत् राखिएमा देशैभरिका शिक्षकहरू आन्दोलनमा उत्रिन बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनी समेत विज्ञप्तिमार्फत दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *