बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
ललितपुर। ललितपुरको जावलाखेलस्थित ऐतिहासिक सदर चिडियाखाना बर्डफ्लु संक्रमण नियन्त्रणमा आएसँगै आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ।
गत असार ५ गते चिडियाखानाभित्र रहेका काग, गिद्ध र हाँसलगायतका पक्षीहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि सुरक्षाका कारण चिडियाखाना पूर्ण रूपमा बन्द गरिएको थियो।
संक्रमण फैलिन नदिनका लागि बिरामी पक्षीहरूको प्रभावकारी उपचार, खोरहरूको सघन सरसफाइ तथा आवश्यक व्यवस्थापनका कार्यहरू सम्पन्न गरिएका थिए।
त्यसपछि लिइएको वातावरणीय नमुनाको प्रयोगशाला परीक्षणमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लु) भाइरस नेगेटिभ देखिएपछि चिडियाखानालाई पुनः सञ्चालनमा ल्याउने निर्णय गरिएको हो।
चिडियाखाना प्रशासनका अनुसार बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको संयुक्त बैठकले जैविक सुरक्षाका मापदण्ड सुनिश्चित गर्दै चिडियाखाना खोल्ने अन्तिम निर्णय गरेको थियो।
चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाले दिएको जानकारी अनुसार अब अवलोकनकर्ताका लागि चिडियाखाना बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म खुला रहनेछ भने प्रवेश गरिसकेका आगन्तुकहरू बेलुका ५ः०० बजेभित्र परिसरबाट बाहिरिइसक्नु पर्नेछ।
सदर चिडियाखाना व्यवस्थापनले लामो समयपछि खुला गरिएको यस पर्यटकीय स्थलमा आउने आगन्तुकहरूलाई विशेष सावधानी अपनाउन र जनावर तथा पक्षीहरूसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ।
यसअघि संक्रमण देखिएका पक्षीहरूका खोरहरूलाई अहिले रातो रिबनले घेरेर सुरक्षित राखिएकाले ती क्षेत्रहरूमा अनावश्यक रूपमा नबस्न र दूरी कायम गर्न व्यवस्थापनले विशेष अनुरोध गरेको छ।
यसका साथै, चिडियाखाना घुम्न आउने सर्वसाधारणलाई आफूसँग ल्याएका खानेकुराहरू खुला स्थानमा नखान, खाँदा प्रयोग भएका प्लास्टिक वा फोहरहरू डस्टबिनमा मात्र व्यवस्थित रूपमा फाल्न तथा परिसरभित्र अनिवार्य रूपमा मास्कको प्रयोग गर्न समेत सचेत गराइएको छ।






डिसी नेपाल





Facebook Comment