गोलभेँडा बजार व्यवस्थापनमा मन्त्री चौधरी सक्रिय, उपत्यका बाहिर निकासी हुँदै

डिसी नेपाल
१ साउन २०८३ १९:०३

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले तत्काल सरोकारवाला निकाय, व्यवसायी तथा किसान प्रतिनिधिहरूसँग छलफल गरी बजार व्यवस्थापनका लागि आवश्यक पहल भैरहेको छ।

मन्त्री चौधरीको निर्देशनमा तत्काल टमाटर किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी उपत्यकामा बढी उत्पादन भएको गोलभेँडालाई अन्य बजारमा पठाउने प्रक्रिया अघि बढाएको छ।

कालीमाटी अन्र्तगत ११ वटा संघीय कृषि बजारसँग समन्वय गरी उपत्यका बाहिर गोलभेँडा निकासी सुरु गरिनुका साथै, कालीमाटी बजार र उपत्यकाका अन्य उत्पादन केन्द्रबाट बाहिर पठाइएको गोलभेँडाको तथ्याङ्क संकलन, अनुगमन तथा सहजीकरणको काम पनि अघि बढाइएको छ।

प्राप्त विवरणअनुसार २०८३ असार ३१ गते कालीमाटी बजारबाट करिब २१.५५ टन र उपत्यकाका अन्य कृषि फर्मबाट करिब १५.१० टन गरी जम्मा ३६.६५ टन सानो गोलभेँडा उपत्यका बाहिर पठाइएको छ।

त्यसैगरी २०८३ असार ३२ गते कालीमाटी बजार तथा अन्य कृषि फर्मबाट थप १४ टन सानो (टनेल) गोलभेँडा उपत्यका बाहिरका बजारमा निकासी भएको छ।

मन्त्री चौधरीले किसानको उत्पादनले उचित मूल्य पाउने वातावरण बनाउन बजार व्यवस्थापन, निकासी सहजीकरण तथा वैकल्पिक बजार विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेकी छन्। उनी दीर्घकालीन रूपमा सुरक्षित भण्डारण, प्रशोधन तथा बजार पूर्वानुमानमा आधारित उत्पादन प्रणाली विकासमा जोड तथा अन्तरमन्त्रालयसँग समन्वय गर्ने तयारीमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *