काठमाडौं उपत्यकामा ट्राफिक कारबाही तीव्र: २४ घण्टामा ७२१ चालक कारबाहीमा, तीव्र गति र मापसे सेवन गर्ने धेरै
काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले कारबाही प्रक्रियालाई तीव्र पारेको छ।
पछिल्लो २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न सडकखण्डमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउने ७२१ जना चालकहरू कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले आइतबार बिहानसम्म सञ्चालन गरेको विशेष जाँच (चेकिङ) का क्रममा ती चालकहरूलाई कारबाही गरिएको हो। कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै तीव्र गतिमा सवारी साधन हुइँक्याउने १३४ जना रहेका छन्।
त्यस्तै, ट्राफिक संकेत उल्लंघन गर्दै रातोबत्तीमा सवारी चलाउने ४१ जना र नियम विपरीत राइड सेयरिङ गर्ने २६ जना चालकलाई पनि प्रहरीले कारबाहीको दायरामा ल्याएको छ।
सडक सुरक्षा र अनुशासनलाई मध्यनजर गर्दै गरिएको यस चेकिङका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २१ जना, हर्न निषेध गरिएका क्षेत्रमा जथाभाभी हर्न बजाउने २१ जना र सडकको फुटपाथ मिचेर सवारी गुडाउने तथा पार्किङ गर्ने २५ जना चालक कारबाहीमा परेका छन्।
यसका साथै यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने ९ जना र अन्य विभिन्न किसिमका ट्राफिक नियम उल्लंघन गर्ने ३९३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। उपत्यकाको यातायात प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन यस्तो आकस्मिक तथा नियमित जाँचलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने प्रहरीको भनाइ छ।






डिसी नेपाल





Facebook Comment