पहिरो पन्छाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा
रामेछाप। काभ्रेको रोशी गाउँपालिका-९ पिन्थलीस्थित विरुवाडाँडामा सडकमाथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति परेको अविरल वर्षाका कारण सडकमा लेदो र पहिरो खस्दा यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध बन्न पुगेको थियो। सडकमा थुप्रिएको पहिरो र लेदो हटाउने कार्य सम्पन्न भएसँगै केहीबेरअघि मात्रै यातायात दुवैतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।
राजमार्ग खुलेसँगै लामो समयदेखि बीच बाटोमै रोकिएका सवारीसाधनहरू आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
सडक अवरुद्ध हुँदा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधनहरू सिन्धुलीको खुर्कोटमा रोकिएका थिए भने काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेका गाडीहरू काभ्रेको भकुण्डे क्षेत्रमा अलपत्र परेका थिए।
राजमार्ग सुचारु भए पनि वर्षायामका कारण सडक अझै जोखिमपूर्ण अवस्थामा रहेकाले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न प्रहरीले सम्पूर्ण चालक तथा यात्रुहरूलाई विशेष आग्रह गरेको छ।






डिसी नेपाल





Facebook Comment