साउनको पहिलो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो
काठमाडौं। यस वर्षको साउनको पहिलो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र प्रवेश गरी पूजा, आराधना गर्नेको घुइँचो लागेको छ। मन्दिरमा आउने सबै दर्शनार्थीले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएकाले मन्दिर परिसरभित्र बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो।
पशुपतिनाथसहित देशभरका शिवालयमा आशुतोष भगवान् शिवको पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको दिनभरि घुइँचो लागेको थियो। पशुपतिनाथ मन्दिरमा आज आउनेजति सबैलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिए। उनका अनुसार दर्शन गर्न लाइन बस्नेको आँकडाअनुसार अनुमानित दुई लाखभन्दा बढी दर्शनार्थीले पूजा, आराधना र दर्शन गरेका छन्।
बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको थियो। बिहान ९ः०० बजे अघि लाममा बसेको आधा घण्टामा मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन सकेर फर्कनसकिने अवस्था रहेकामा ९ः०० बजेपछि भने करिब एक घण्टा ३० मिनेटसम्म लागेको उनले बताए। बेलुकी ६ः०० बजेपछि पनि आधा घण्टामा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको कोषले जनाएको छ।
आज बिहानै ३ः०० बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको थियो। बिहान भने भक्तजनले सहज रूपमा दर्शन पाएका थिए। साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका थिए। यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विषेश पूजाको व्यवस्था गरिएको छ।
कोषले यसवर्ष रु एक हजार तिरेर टिकट काटी सुलभ रूपमा दर्शन गर्न सक्ने व्यवस्थासमेत गरेको छ। यो व्यवस्थालाई सुलभ दर्शन भनिएको छ। यो व्यवस्थाले सहज रूपमा दर्शन गरेर काम विशेषले हिँड्नेका लागि सजिलो भएको छ। भगवान्को दर्शन गरी राजधानी बाहिर वा विदेश जानेका लागि सहज भएको कोषले जनाएको छ। यसरी करिब २५ जनाले दर्शन गरेका कोषको सञ्चालक परिषद् सदस्य भण्डारीले बताउनुभयो। तर यो व्यवस्थाको केही भक्तजनले भने बिरोध जनाएका छन्।
साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए।
यसवर्ष विशेष पूजाका लागि करिब २५० जनाले रसिद काटेका छन्। रु तीन हजार १०० र रु सात हजार ५०० को रसिद काटी विशेष पूजाको व्यवस्था मिलाइएको छ। बिहान ८ः३० बजेदेखि करिब १२ः०० बजेसम्म भक्तजनलाई विशेष पूजा गराइएको थियो।
मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको थियो। बिहानैदेखि भक्तजन आएपनि लामो लाम भने नभएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत विभिन्न संस्थाले पनि पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ।
साउनको पहिलो सोमबार आज पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ। यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्।
पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्नेले गोकर्णेश्वर र गोकर्णेश्वर महादेव मन्दिरको पूजा, आराधना एवं दर्शन गर्नेले पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्नै पर्ने भन्ने नियम पनि रहेको जनाइएको छ।






डिसी नेपाल





Facebook Comment