वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटलाइज गरिँदै, ऐन संशोधनको तयारीमा सरकार
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताएका छन्।
मंगलबार वैदेशिक रोजगार विभागको ताहचलस्थित कार्यालयमा अनुगमन गर्दै मन्त्री यादवले नयाँ डिजिटल प्रणाली पूर्ण रूपमा लागू भएपछि वैदेशिक रोजगारीका लागि म्यानपावरमा आवेदन दिन, अन्तर्वार्तामा सहभागी हुन वा अन्य प्रशासनिक प्रक्रिया पूरा गर्न युवाहरू काठमाडौँ आउनुपर्ने बाध्यता अन्त्य हुने स्पष्ट पारेका हुन्।
वैदेशिक रोजगार क्षेत्रमा सुधार ल्याउन सरकारले विद्यमान ऐन संशोधनको प्रक्रिया अघि बढाएको मन्त्री यादवको भनाइ छ। ऐन संशोधनको मस्यौदा शीघ्र मन्त्रिपरिषद् र संसद्मा लैजाने तयारी भइरहेको जानकारी दिँदै उनले यो कदमले वैदेशिक रोजगारको क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने बताए।
हाल विद्यमान कानुनी व्यवस्थाअनुसार केही सेवा डिजिटल प्रणालीमार्फत सञ्चालन भइरहेको भए पनि नयाँ ऐन लागू भएपछि अधिकांश सेवाहरू अनलाइनमार्फत थप आधुनिक र प्रभावकारी ढङ्गले उपलब्ध गराइने उनले बताए।
त्यस्तै, मन्त्री यादवले वैदेशिक रोजगारीका नाममा सर्वसाधारणलाई ठगी गर्नेहरूलाई कडा चेतावनी दिएका छन्। मान्छे ठगेर जहाँसुकै लुकेर बसे पनि नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान निकाय र वैदेशिक रोजगार विभागको संयुक्त अनुसन्धान संयन्त्रमार्फत कानुनी दायरामा ल्याएर छाड्ने उनले दाबी गरे।
डिजिटल प्रणालीको विकाससँगै ठगी नियन्त्रण र सेवा प्रवाहलाई पारदर्शी बनाउन मन्त्रालय कडाइका साथ लाग्ने उनको भनाइ छ।






डिसी नेपाल





Facebook Comment