विपत्तिको २४ घण्टा: देशभर ६६ विपद्का घटनामा दुईको मृत्यु, ५२ जिल्ला प्रभावित

डिसी नेपाल
६ साउन २०८३ ६:४५

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर विपद्का ६६ वटा घटना घट्दा ५२ जिल्ला प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहानदेखि मंगलबार बिहानसम्म संकलन गरेको विवरणअनुसार यी घटनामा परी दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।

प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा पहिरोका १७, अविरल वर्षाका १०, सर्पदंशका आठ, आगलागीका सात, बाढीका छ, भूकम्पका दुई तथा चट्याङ र जनावर आक्रमणका एक-एक वटा घटना दर्ता भएका छन्।

यी विपद्का कारण देशभर गरी कुल १० लाख ७४ हजार ५०० रुपैयाँ बराबरको भौतिक क्षति हुनुका साथै सात स्थानमा सडक अवरुद्ध भएको थियो।

वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

जोखिमयुक्त स्थानमा नजान र पूर्वमौसमसम्बन्धी अध्यावधिक जानकारी लिएर मात्रै यात्रा तय गर्न प्राधिकरणले सर्वसाधारण सबैमा ध्यानाकर्षण गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *