कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया बोकेको जहाज आइपुग्यो, ट्रकमार्फत नेपाल ल्याउन थालियो
काठमाडौं। नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेल सञ्चालनमा केही बाधा पुगेको छ।
यसअघि नै नेपाल आइपुग्नुपर्ने १,२५० मेट्रिक टन युरिया मल बोकेको रेल अब भोलिसम्ममा आइपुग्ने जानकारी प्राप्त भएको छ। त्यसैगरी, २५ सय मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलिसम्ममा नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, युरिया मलको आपूर्तिलाई तीव्र बनाउन कलकत्ताबाट ट्रकमार्फत मल ढुवानी सुरु भइसकेको छ। जसअनुसार विराटनगरका लागि ३०० मेट्रिक टन र भैरहवाका लागि ४५० मेट्रिक टन युरिया मल लोड भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको मन्त्रालयले जनाएको छ।
बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने र आवश्यकता अनुसार देशभर वितरण गरिने मन्त्रालयको भनाइ छ। मन्त्रालयले कृषकहरूका लागि आवश्यक पर्ने रासायनिक मलको आपूर्ति र वितरण कार्यलाई निरन्तरता दिइरहेको स्पष्ट पारेको छ।






डिसी नेपाल





Facebook Comment