कार्गो रेल सेवा सुरु भएसँगै पूर्वका उद्योगी उत्साहित, दिगोपनाको अपेक्षा
विराटनगर । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेको कार्गो रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुगेपछि पूर्वी नेपालका उद्योगी–व्यवसायी उत्साहित बनेका छन्। वर्षौंदेखिको माग पूरा भएको भन्दै उनीहरूले यसलाई पूर्वी नेपालको औद्योगिक विकासका लागि ‘गेम चेन्जर’ र ‘माइलस्टोन’का रूपमा व्याख्या गरेका छन्।
गत शुक्रबार कोलकाताबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको रेल सोमबार विराटनगरस्थित कस्टम यार्डमा आइपुगेको हो। नियमित सेवाअन्तर्गत आएको पहिलो कार्गो रेलले मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेको थियो।
यसअघि तेस्रो मुलुकबाट आउने सामान भारतीय सीमावर्ती बथनाहासम्म मात्र रेलमार्फत ल्याइन्थ्यो। त्यसपछि ट्रकमार्फत विराटनगरसम्म ढुवानी गर्नुपर्ने बाध्यता थियो। अब भने रेल सिधै नेपालको भन्सार बिन्दुसम्म आइपुग्ने व्यवस्था भएपछि ढुवानी प्रक्रिया सहज हुने, समय बचत हुने र लागत उल्लेखनीय रूपमा घट्ने उद्योगीहरूको विश्वास छ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले यो सेवा पूर्वी नेपालका उद्योगका लागि ऐतिहासिक उपलब्धि भएको बताए।
उनले भने, “यो धेरै वर्षदेखिको माग थियो, अन्ततः पूरा भएको छ। रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत घट्छ, उद्योग सञ्चालन खर्च कम हुन्छ र उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्छ। यो पूर्वी नेपालको औद्योगिक विकासका लागि साँच्चिकै माइलस्टोन हो।”
उनका अनुसार ढुवानी खर्च घट्दा त्यसको प्रत्यक्ष लाभ उद्योगलाई मात्र नभई अन्ततः उपभोक्तासम्म पुग्नेछ। समयमै कच्चा पदार्थ उपलब्ध हुँदा उत्पादन प्रक्रिया पनि थप प्रभावकारी बन्ने उनले बताए।
नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका अध्यक्ष पवन सारडाले कार्गो रेल सेवा सञ्चालनसँगै विराटनगर औद्योगिक करिडोरका उद्योगले देशका अन्य औद्योगिक क्षेत्रसँग थप प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनेको बताए।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले परीक्षणपछि लामो समय रोकिएको सेवा अन्ततः नियमित रूपमा सुरु हुनु सकारात्मक भएको बताए।
उनले भने, “दुई वर्षअघि नै यसको उद्घाटन भएको थियो, तर विभिन्न कारणले नियमित सञ्चालन हुन सकेन। अब यो सेवा निरन्तर चल्नुपर्छ। निरन्तरता पाए उद्योगीले ठूलो राहत पाउनेछन् र यसको वास्तविक लाभ देखिन थाल्नेछ।”
राठीका अनुसार रेलमार्फत कच्चा पदार्थ आयात हुँदा ट्रकमा निर्भरता घट्ने, ढुवानी जोखिम कम हुने र उत्पादन लागत नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्नेछ।
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले सेवा सुरु हुनु मात्र पर्याप्त नभएको भन्दै यसको दिगोपनामा जोड दिए।
उनले भने, “यो सेवा निरन्तर सञ्चालन हुनु सबैभन्दा महत्वपूर्ण पक्ष हो। उद्योगीलाई यसको प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ। औद्योगिक सचेतना बढाउन सके मात्र रेल सेवा पूर्ण रूपमा सफल हुन्छ।”
नयाँ व्यापारिक मार्गको औपचारिक शुभारम्भ
कार्गो रेल सेवाको औपचारिक शुभारम्भ यसअघि कोलकातामा आयोजित विशेष समारोहबाट गरिएको थियो। कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, भारतीय भन्सारका उच्च अधिकारी, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का प्रतिनिधिले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई विराटनगरका लागि बिदाइ गरेका थिए।
सोमबार रेल विराटनगर भन्सार यार्डमा आइपुग्दा भन्सार कर्मचारी, उद्योगी तथा व्यवसायीले स्वागत गरेका थिए भने मंगलबार औपचारिक कार्यक्रममार्फत सेवाको शुभारम्भ गरिएको थियो।
परीक्षणपछि नियमित सञ्चालनमा
विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्म कार्गो रेल सञ्चालन गर्ने लक्ष्यसहित २०८० साल जेठमा परीक्षण सेवा सुरु गरिएको थियो। तर नीतिगत जटिलता, प्रक्रियागत समन्वयको अभाव र प्रशासनिक अवरोधका कारण सेवा नियमित हुन सकेको थिएन।
पछिल्लो समय नेपाल र भारतका सम्बन्धित निकायबीच आवश्यक समन्वय तथा नीतिगत समस्या समाधान भएपछि कोलकातादेखि विराटनगरसम्म कार्गो रेल नियमित सञ्चालनको बाटो खुलेको हो।
उद्योगीहरूको विश्वास छ, यदि यो सेवा निरन्तर सञ्चालन हुन सके पूर्वी नेपालको औद्योगिक उत्पादन, आयात–निर्यात, ढुवानी व्यवस्थापन तथा समग्र औद्योगिक प्रतिस्पर्धात्मक क्षमतामा दीर्घकालीन सकारात्मक प्रभाव पर्नेछ। यसले उद्योग सञ्चालन सहज बनाउनुका साथै पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय व्यापारको दृष्टिले अझ सशक्त केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






डिसी नेपाल





Facebook Comment