नेपाल राष्ट्र बैंकले आज एक खर्ब निक्षेप संकलन गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने
काठमाडाैं। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अत्यधिक तरलता (नगद) व्यवस्थापन गर्न आज रु एक खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै ८३ दिनको परिपक्व अवधि रहने गरी निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत आवेदन दिन सक्नेछन् भने उपकरणको निष्कासन पनि आजै गरिनेछ।
यस उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाका आधारमा तय हुनेछ र संकिलित निक्षेपको साँवा तथा ब्याज २०८३ साल असोज २७ गते भुक्तानी गरिनेछ।
बोलकबोलमा सहभागी हुन कम्तिमा १० करोडदेखि अधिकतम कुल आह्वान गरिएको (एक खर्ब) रकमसम्म आवेदन दिन सकिनेछ। एउटै संस्थाले फरक-फरक ब्याजदरमा एकभन्दा बढी आवेदन पेस गर्न पाउने सुविधा दिइएको छ।
यस प्रक्रियामा राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गको इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन योग्य हुनेछन्।
आवेदन दिँदा रकमका साथै दशमलवपछि चार अंकसम्मको ब्याजदर खुलाउनुपर्नेछ। केन्द्रीय बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै रकम बाँडफाँट गर्नेछ। यदि समान ब्याजदरमा मागभन्दा बढी आवेदन परेमा ‘प्रो-राटा’ (आनुपातिक) आधारमा रकम स्वीकृत गरिनेछ।
संकलित रकमलाई बैंकहरूले आफ्नो लगानी पोर्टफोलियोका रूपमा राख्न पाउनेछन्। उक्त निक्षेपलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात र तरलता अनुपातमा समावेश गर्न पाइनेछ।
साथै, यो निक्षेपको परिपक्व अवधि पूरा नभएसम्म पूर्वभुक्तानी (प्रि-म्याच्योर) सुविधा उपलब्ध नहुने स्पष्ट पारिएको छ।






डिसी नेपाल





Facebook Comment