१७ वर्षदेखि फरार रहेका अपराधी ड्रोनको सहयोगमा भेटिए
बेइजिङ (एजेन्सी) । चिनियाँ प्रहरीले सत्र वर्षदेखि फरार रहेका एक व्यक्तिलाई ड्रोनको सहायताले एउटा गुफाबाट पक्राउ गरेका छन्। महिला तथा बालबालिका बेचबिखनको अभियोगमा ६३ वर्षीय सोङ जियाङले जेल सजाय काटिरहेका थिए। तर सन् २००२ मा उनी एउटा कैदी शिविरबाट भागेका थिए।
मानव गतिविधि नहुने एउटा गुफाभित्र उनी वर्षौंदेखि बसिरहेका थिए। सोङ लुकेर बसिरहेको ठाउँबारे योङ्गशान प्रहरीले आफ्नो विच्याट खातामा सेप्टेम्बरको शुरूतिर सुइको पाएका थिए। त्यो सूचनाले प्रहरीलाई दक्षिण–पश्चिमी चीनको युनान प्रान्तस्थित सोङको घरपछाडि रहेको पहाडसम्म पुर्यायो।

नियमित खोजी प्रक्रियाबाट उनलाई भेट्टाउन विफल भएपछि अधिकारीहरूले अतिरिक्त ड्रोनहरू पठाए। ती ड्रोनहरूले भीरमा नीलो रङ्गको स्टीलको छतका साथै नजिकै फोहोरमैला भएको देखेका थिए।
त्यसपछि प्रहरीहरू हिँडेर त्यहाँ पुगे र एउटा सानो गुफाभित्र सोङलाई भेटाए। प्रहरीका अनुसार सोङ लामो समयदेखि गुफाभित्र एकलकाटे जीवन बिताइरहेकोले अधिकारीहरूसँग कुरा गर्न उनलाई गाह्रो भएको थियो।

सरकारी सञ्चारमाध्यमका अनुसार सोङले प्लास्टिकको बोतलमा एउटा नदीबाट खाने पानी ल्याउने गरेका थिए भने आगो बाल्न दाउराको प्रयोग गर्थे। पक्राउ गरिएपछि उनलाई पुनः जेल पठाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment