डा. गोविन्द केसीको २४औं सत्याग्रह: सरकारी वार्ता टोली धनगढी पुग्यो, औपचारिक वार्ता आज हुँदै
धनगढी। २४औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित तीन सदस्यीय सरकारी टोली धनगढी पुगेको छ।
गठित समितिमा संयोजक डा. अग्रवालसहित शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन्। सरकारी प्रतिनिधिको टोलीले शनिबार डा. केसीसँग सामान्य भेटघाट गरे पनि औपचारिक वार्ता भने आज (आइतबार) हुने तय भएको छ।
डा. केसीका स्वास्थ्य सहयोगी डा. अमृत जैसीका अनुसार शनिबारको भेट सामान्य शिष्टाचारमा मात्र सीमित थियो। उनले सरकारका प्रतिनिधिहरू केसीका मागहरूप्रति कति गम्भीर रूपमा प्रस्तुत हुन्छन् भन्ने कुराले वार्ताको नतिजा निर्धारण गर्ने बताएका छन्। डा. जैसीले डा. साहेबले उठाउनु भएका विषयमा सरकार कसरी प्रस्तुत हुन्छ र कति गम्भीर हुन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको र उहाँ आफ्ना अडानबाट पछि हट्ने अवस्थामा नरहेको बताएका छन्।
डा. केसीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त भएका उपकुलपति र रजिष्ट्रारलाई बर्खास्त गरी नयाँ नियुक्ति गरिनुपर्ने, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णयहरू तत्काल खारेज गरिनुपर्ने तथा चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउन कानुनी ऐनका प्रावधानहरू कडाइका साथ कार्यान्वयन गरिनुपर्ने माग राखेका छन्।
यसैगरी, विगतमा सरकारसँग भएका सम्पूर्ण लिखित सहमतिहरू हुबहु कार्यान्वयन गरिनुपर्ने, सीमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार पूर्ण रूपमा सुरक्षित गरिनुपर्ने, भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड र हिंसाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको दायरामा ल्याइनुपर्ने र विकट क्षेत्रमा रहेका सर्वसाधारण नागरिकको स्वास्थ्य अधिकार कटौती गर्ने प्रयास तत्काल बन्द गरिनुपर्ने गरी कुल सात बुँदे माग अघि सारेर उनी सत्याग्रहमा बसेका हुन्। विगत केही दिनदेखि आफ्ना विभिन्न माग राखी सत्याग्रहमा डटिरहेका डा. केसीका मागप्रति सरकारको आगामी कदम र आज हुने वार्ताले विशेष महत्त्व राख्ने देखिएको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment