झ्यारी खोलामा पहिरो जाँदा नाग्मा-गमगढी सडक दुई दिनदेखि ठप्प, सयौं यात्रु र सवारीसाधन अलपत्र

डिसी नेपाल
११ साउन २०८३ १३:४३

काठमाडौं। मुगुको छायाँनाथ रारा नगरपालिका-८ स्थित झ्यारी खोलामा गएको भीषण पहिरोका कारण कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडक खण्ड दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार बिहानदेखि निरन्तर पहिरो खसेपछि यात्रुवाहक बस, मालवाहक सवारीसाधन तथा सयौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार करिब ५० मिटर चौडाइ र १०० मिटर लम्बाइ क्षेत्रमा माथिबाट पहिरो खसेकाले सडक सञ्चालनमा निकै कठिनाइ भएको छ।

मेसिन (जेसीबी) मार्फत पहिरो पन्छाउने प्रयास भइरहे पनि माथिबाट निरन्तर ढुंगा-माटो खसिरहेकाले काम प्रभावित भइरहेको छ। स्थिति सहज बनाउन थप जेसीबी र जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ।

झ्यारी खोलादेखि ताल्चा विमानस्थलसम्मको ‘९८ प्लस ३०० चेनेज’ क्षेत्रमा सडक फराकिलो बनाउने (डबल कटिङ), नाला निर्माण गर्ने र पहिरो प्रभावित क्षेत्रमा ग्याबिन जाली लगाउने ठेक्का भइसकेको थियो।

तर, निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा बर्खायाममा हिलो र पहिरोको समस्या दोहोरिएको सडक डिभिजनको भनाइ छ। वर्षा रोकिएमा मंगलबारसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सडक डिभिजन कार्यालय जुम्लाका सुपरभाइजर जुग्गीबहादुर मल्लले जानकारी दिए।

सडक ठप्प हुँदा औषधोपचारका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौं हिँडेका बिरामी तथा अन्य सर्वसाधारण यात्रुहरू बाटोमै रोकिएका छन्। सुर्खेत र नेपालगञ्जबाट खाद्यान्न तथा व्यापारिक सामग्री बोकेर आएका दर्जनौँ मालवाहक ट्रकहरू पनि लामो लाइनमा अलपत्र परेका छन्।

स्थानीय जनप्रतिनिधि, पालिका, प्रहरी र प्रशासनले ठेकेदारलाई समयमै काम सम्पन्न गराउन दबाब नदिँदा आफूहरूले बर्सेनि सास्ती खेप्नुपरेको यात्रुहरूको गुनासो छ। यात्रु अक्कलसिंह कुमालका अनुसार बाटो कहिले खुल्छ भन्ने अनिश्चित हुँदा गाडीमै रात बिताउनुपरेको छ भने खानपिन र बसाइको ठूलो समस्या भएको छ।

मुगुको सदरमुकाम गमगढी राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष बितिसक्दा पनि सडकको दुर्दशा उस्तै रहेको स्थानीयको भनाइ छ। हिउँदमा धुलो र बर्खामा हिलो तथा पहिरोले गर्दा यात्रा सधैँ जोखिमपूर्ण हुने गरेको सवारी चालक खगेन्द्र खड्काले बताए।

यता, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढाले भने अवरुद्ध सडक छिटोभन्दा छिटो खुलाउन जिल्ला प्रशासन कार्यालय मुगु र सडक डिभिजन कार्यालय जुम्लासँग निरन्तर समन्वय भइरहेको जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *