कांग्रेस क्रियाशील सदस्यता आवेदन अनुमोदनको अन्तिम मिति तय
काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन अनुमोदन गर्ने अन्तिम मिति आगामी साउन १४ गतेसम्म निर्धारण गरेको छ। संस्थापनइतर पक्षको बहिष्कार अभियानका कारण यसअघि मिति पटकपटक सर्दै आएको थियो।
पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले सदस्यता व्यवस्थापनलाई समयमै टुंग्याउने निर्णय गरेको हो।
बैठकले प्रतिनिधिसभा क्षेत्र र वडा तहमा प्राप्त नयाँ आवेदनहरू साउन १४ गतेभित्र अनिवार्य रूपमा अनुमोदन गरिसक्नुपर्ने व्यवस्था गरेको छ भने पालिका र क्षेत्रले मातहतबाट प्राप्त आवेदनहरू तीन–तीन दिनभित्र अनुमोदन गर्नुपर्ने निर्देशन दिएको छ।
त्यस्तै, इन्टरनेट पहुँच कम भएका हिमाली तथा विकट पहाडी जिल्ला, भातृ र शुभेच्छुक संस्थाका सदस्यहरूको फाराम साउन १५ गतेभित्र केन्द्रमा बुझाइसक्नुपर्ने निर्णय भएको छ।
डिजिटल प्रणाली प्रयोग गर्न नसकेका वा विभिन्न कारणले छुटेका स्थानहरूमा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा केन्द्रबाटै सदस्यता अद्यावधिक तथा अनुमोदनको प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।
साथै, कुनै पनि वडामा क्रियाशील सदस्य संख्या ४० भन्दा कम र ३५ वर्षमुनिका सदस्य ५ जनाभन्दा कम भएमा पनि केन्द्रीय प्रतिनिधिको सिफारिसमा सदस्यता प्रदान गरिने भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment