नारायणगढ-मुग्लिन सडकमा सुक्खा पहिरो: पन्छाउन सकस, दिउँसोसम्म दुईतर्फी खुलाउने प्रयास
चितवन। नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरो पन्छाउन कठिन भइरहेको छ। इच्छाकामना गाउँपालिका-७ मा मंगलबार बिहानै एकाएक सुक्खा पहिरो खसेपछि सो सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको हो।
डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार अनुमान नै नगरिएको नयाँ ठाउँबाट सुक्खा पहिरो खसेकाले सडक अवरुद्ध हुन पुगेको हो। माथिबाट निरन्तर ढुंगा र माटो खसिरहेका कारण पहिरो पन्छाउन निकै समस्या भइरहेको छ।
यद्यपि, केहीबेरअघि पहिरोको केही भाग पन्छाएर रोकिएका आकस्मिक सेवाका सवारी साधनहरूलाई भने पार गराइएको छ। सडकलाई दुईतर्फी नै सञ्चालनमा ल्याउन भने थप केही समय लाग्ने इन्जिनियर घिमिरेले जानकारी दिए।
“माथिबाट थप पहिरो नखसेमा दिउँसोसम्ममा सडक पूरै सफा गरेर रोकिएका सबै सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको छ,” घिमिरेले भने।
पहिरो गएको स्थान मुग्लिन बजारबाट नारायणगढतर्फ करिब ७०० मिटरको दूरीमा पर्दछ। करिब ४० मिटर माथिबाट खसेको ढुंगासहितको पहिरोले सडकको २० मिटर क्षेत्र ढाकेको छ। नयाँ डाँडाबाट पहिरो खस्न सुरु भएकाले यस वर्षको बर्खायाममा सो स्थानमा पहिरोको थप जोखिम बढ्न सक्ने अनुमान गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment