सुनसरी घटनापछि सामाजिक सद्भाव जोगाउन रास्वपाको पहल: आज सर्वदलीय बैठक बस्दै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीमा भएको दुःखद घटनाका साथै मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
उक्त बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ। छलफलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगै संसद् बाहिर रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दलहरूलाई पनि विशेष आमन्त्रण गरिएको छ।
बैठकका लागि रास्वपाले सबै दललाई औपचारिक पत्राचार गर्नुका साथै सभापति लामिछाने आफैँले शीर्ष नेताहरूसँग फोनमा संवाद गरी उपस्थितिका लागि आग्रह गरेका छन्।
सुनसरीको देवानगन्जमा दुई समूहबीच भएको विवाद र त्यसपछिको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक नागरिकको ज्यान जानुका साथै सर्वसाधारण र सुरक्षाकर्मी गरी दर्जनौँ घाइते भएका थिए। घटनापछि गृहमन्त्रालयले स्थानीय प्रशासन र प्रहरी नेतृत्व परिवर्तन गरी सहसचिवको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरिसकेको छ।
रास्वपाले मंगलबार नै वक्तव्य जारी गरी घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पीडितलाई राहत, क्षतिपूर्ति तथा निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिसकेको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार घटनापछि उत्पन्न असहज परिस्थितिमा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गर्न र सामाजिक सद्भाव कायम राख्न प्रशासनिक प्रयास मात्र पर्याप्त नहुने भएकाले यो राजनीतिक पहल थालिएको हो। देशमा शान्ति-सुरक्षा कायम राख्न र सामाजिक सहिष्णुता जोगाउन राजनीतिक नेतृत्वका तर्फबाट साझा सन्देश र अपिलको महसुस भएकाले नै यो सर्वदलीय छलफल आयोजना गरिएको उनले बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment