धौलीगंगा जलविद्युत् आयोजनाको बाँध खोलियो, महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता
काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोकाहरू खोलिएको छ । यससँगै महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै भारतको एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन धारचुलाले बुधबार बिहान ६:०० बजेदेखि बिहीबार अपराह्न ६:०० बजेसम्म बालुवा तथा लेदो (सिल्ट) सफाइका लागि बाँधका ढोकाहरू खोल्न लागिएको जानकारी प्राप्त भएको जनाएको छ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार बाँध खोलेर सिल्ट सफाइ गरिने भएकाले उक्त अवधिभर महाकाली नदीमा पानीको बहाव अचानक र अत्यधिक बढ्न सक्ने सम्भावना छ। त्यसैले नदी किनारका बासिन्दाहरूलाई नदी आसपास नजान र विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले पनि एक विज्ञप्ति जारी गरी महाकाली नदी तटीय क्षेत्रका नागरिकहरूलाई सतर्क रहन निर्देशन दिएको छ।
बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले नदी आसपासका बासिन्दा, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई जुनसुकै बेला पर्न सक्ने जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
बाँध खोलिएपछि दार्चुला, बैतडी हुँदै डडेल्धुरा र कञ्चनपुरसम्मका महाकाली नदी किनारका बस्तीहरू प्रभावित हुन सक्ने भएकाले तटीय क्षेत्रमा गस्ती र निगरानी बढाउन सुरक्षा निकायहरूलाई समेत परिचालन गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment