इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध २ करोड २६ लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनले अवैध रूपमा दुई करोड २६ लाख १३ हजार १२३ रूपैयाँ ३६ पैसा सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।
अख्तियारले इन्जिनियर चौधरी सार्वजनिक सेवामा प्रारम्भिक नियुक्ति भएको मिति २०६५ पुस ११ गतेदेखि सम्पत्ति विवरण फाराम भरी आयोगमा बुझाएको मिति २०८२ असार २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी छानबिन गरेको थियो।
जाँच अवधिमा उनको पारिश्रमिक तथा एकाघरका परिवारका सदस्यहरूको वैधानिक आम्दानी दुई करोड ७२ लाख ५५ हजार ७६६ रूपैयाँ छ पैसा मात्र देखिएको छ। तर, सोही अवधिको कुल व्यय (खर्च तथा लगानी समेत) भने चार करोड ९८ लाख ६८ हजार ८८९ रूपैयाँ ४२ पैसा रहेको पाइएको छ। कुल आम्दानी र खर्चबीचको यो ठूलो भिन्नता (दशलाखभन्दा बढी) अर्थात दुई करोड २६ लाख १३ हजार १२३ रूपैयाँ ३६ पैसाको वैध स्रोत पुष्टि हुन नसकेको अख्तियारको ठहर छ।
इन्जिनियर चौधरीले सेवा अवधिका दौरान गैरकानुनी रूपमा आर्जन गरेको उक्त कालो धन परिवारका अन्य सदस्यहरूको नाममा समेत लगानी गरी लुकाएको खुल्न आएको छ। यसरी अवैध सम्पत्ति आफ्नो र परिवारको नाममा समेत राख-रखाव गरेको देखिएपछि अख्तियारले इन्जिनियर शैलेन्द्र कुमार चौधरी र उनकी श्रीमती अर्पना कुमारी उपर समेत विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment