जनकपुरमा प्रदर्शन उग्र, बजार बन्दपछि अनिश्चितकालीन कर्फ्यू; गृहमन्त्रीको राजीनामा माग
डिसी नेपाल
१४ साउन २०८३ १४:५१
जनकपुर। सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा हिन्दू सम्राट सेनाको आह्वानमा बिहीबार जनकपुरधाममा भएको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
हिन्दू सम्राट सेनाको नेतृत्वमा जनकपुरधामका हिन्दू युवाहरूले बजार बन्द गराउँदै विभिन्न मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले ‘हिन्दु राष्ट्र कायम गर’ , ‘हिन्दु मार्न पाइँदैन’, ‘मुस्लिम आयोग खारेज गर’ लगायतका नाराबाजी गर्दै सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा गृहमन्त्रीको राजीनामाको माग गरेका थिए।
प्रदर्शन चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३स्३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिकाका केही भाग तथा नगराइन नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू लागू गरिएको छ।
प्रदर्शनका कारण जनकपुरधामको सम्पूर्ण बजार ठप्प भएको छ भने सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको छ। सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनालाई संवेदनशील स्थानहरूमा व्यापक रूपमा परिचालन गरिएको छ।
प्रशासनले कर्फ्यू अवधिमा अत्यावश्यक सेवाबाहेक कसैलाई पनि घरबाहिर ननिस्कन आग्रह गरेको छ। साथै अफवाहमा नलाग्न, शान्ति–सुरक्षा कायम राख्न तथा सुरक्षा निकायलाई सहयोग गर्न सर्वसाधारणसँग अपिल गरेको छ।
सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेका छन्। जनकपुरधाममा भएको प्रदर्शन पनि सोही घटनाको विरोधस्वरूप आयोजना गरिएको हो।
Facebook Comment