जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी घोषणा
अमेरिका। नेपाली जनसम्पर्क समिति अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्डका गौतम दाहालले उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली जनसम्पर्क समिति,अमरिकाको तेश्रो केन्द्रीय अधिवेशन अगष्ट १४, १५ र १६ तारिख भर्जिनिया राज्यमा सम्पन्न हुन लागिरहेको छ। दाहाल केन्द्रीय अधिवेशन तयारी समितिका सदस्य सचिव हुन्।
आफ्नो उम्मेदवारी घोषणा संगै दाहालले समितिको नेतृत्वमा रहेर आफुले काम गर्न चाहेका एजेन्डा पनि सार्वजनिक गरेका छन्। सांगठिनक संरचनालाई मजबुत बनाउने, नेपाल र अमेरिका वीच नागरिकस्तरको सम्वन्ध विस्तार गर्ने, दोश्रो पुस्तालाई विभिन्न फोरमहरुमा सक्रिय वनाउने लगायतका एजेन्डा तय गरेका छन् ।
यसैगरी आर्थिक पारदर्शीतालाई आफ्नो एजेण्डाको प्रमूख प्राथमिकतामा राखेको उल्लेख गर्दै दाहालले भनेका छन्-‘ आर्थिक अनुशासन र पारदर्शीतालाई म पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु। ‘ उनले संस्थाको विश्वास र भरोसा भनेको नै आर्थिक पारदर्शीतामा रहने भन्दै यस मामिलामा आफ्नो कुनै सम्झौता नहुने प्रतिवद्धता जनाए। ‘म मेरो कार्यकालमा कुनै प्रश्न नउठ्ने गरी काम गर्नेछु, मेरा हातहरु सफा छन् र सफा नै राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु। ‘
दाहालले अमेरिकामा रहेका विभिन्न च्याप्टरहरुको सहकार्य र सहभागितामा प्रविधी मैत्री कार्यक्रमहरु सञ्चालन गर्ने आफनो एजेण्डामा उल्लेख गरेका छन्।
उनको एजेण्डामा अमेरिकामा वसेर विभिन्न क्षेत्रमा ख्याति कमाएका, अनुभवी व्यक्तित्वहरुको समेत सहभागिताामा थिङ्क टयांक – बौद्धिक समूह) स्थापना गरेर विभिन्न विषयमा औपचारिक धारणाहरु समेत सार्वजनिक गरिने उल्लेख गरिएको छ ।
संस्थागत सुशासन ,विधान सम्मत कार्ययोजना र आर्थिक विवरणलाई थप पारदर्शी वनाएर चुस्त संगठन निर्माणमा योगदान दिने दाहालको एजेण्डामा समावेश गरिएको छ।
उनले अमेरिकाको विभिन्न तहको सरकारमा रहेका नेपाली मूलका अमेरिकीहरु निर्वाचित प्रतिनिधिहरुसंग मिलेर नेपालको हितको पक्षमा वकालत गर्ने र संघीय संसदको तहमा विगतमा क्रियाशील रहेको नेपाल सरोकार समूह- नेपाल ककसलाई पुन: सक्रिय बनाउन लबिङ्ग गर्ने प्रतिवध्दता समेत जनाएका छन्।
अमेरिकामा रहेको नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जन निर्वाचित प्रधानमंत्री वीपी कोइरालाको अर्धकदको शालिकलाई आफ्नो कार्यकालमै कुनै सार्वजनिक पार्क वा स्थानमा राख्नको लागि पहल गर्ने, नेपालीहरुको पहुँच र प्रभाव रहेको विभिन्न राज्यको समुदायमा स्थानीय बाटो र गल्लीहरुको नाम नेपालको नाममा राख्न स्थानीय एवं राज्य सरकारसंग समन्वय गर्ने र समितिका च्याप्टरहरुलाई वार्षिक क्यालेन्डर बनाएर कार्य तालिका अनुसार काम गर्नुपर्ने गरी योजना बनाउने एजेन्डा सार्वजनिक गरेका छन्।
दाहालको योजना र उम्मेदवारीको समर्थनमा जनसम्पर्क समितिका मतदाताहरु र अन्य सहभागीहरुले समर्थन जनाउंदै ऐक्यवद्धता व्यक्त गरेका छन्।
अध्यक्षको दावी गरेका दाहाल को हुन्?
शहीदभूमि ओखलढुंगामा जन्मिएका गौतम दाहाल विद्यार्थी जीवनसंगै नेपाल विद्यार्थी संघमार्फत सक्रिय रहेर काम गरेका जुझारु व्यक्ति हुन्। नेपाल विद्यार्थी संघ ओखलढुंगाको जिल्ला सदस्य, नेपाल विद्यार्थी संघ ओखलढुंगा- काठमाडौ सम्पर्क समितिको सभापति समेत भएर काम गरिसकेका दाहाल तत्कालीन अर्थ राज्यमन्त्री गोपाल राइको प्रेस सल्लाहकार समेत थिए।
पारिवारिक राजनीतिक विरासतमा जोडिएका दाहालको पाटो राजनीति संगै पत्रकारितामा पनि जोडिएको छ। दाहाल विगत २१ वर्षदेखि अमेरिकामा बसोवास गर्छन् र नेपाली जनसम्पर्क समिति,अमेरिकाको विभिन्न जिम्मेवारीमा रहेर निरन्तर काम गर्दै आइरहेका छन्। दाहाललाई चिन्नेहरू नेपाली कांग्रेसको कर्मठ र निरन्तर सक्रिय हुन सक्ने प्रतिवद्ध व्यक्तिको रुपमा उनलाई लिन्छन्।
सन् २००७ देखि उनी नेपाली जनसम्पर्क समिति,अमेरिकाको विभिन्न जिम्मेवारीमा रहँदै हाल उनी कांग्रेस महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि छन्। समितिको निवर्तमान प्रचार विभाग प्रमूख र प्रवक्ता रहेका दाहाल कांग्रेसको प्रचार विभाग अन्तर्गत विभिन्न जिम्मेवारीमा समेत रहेर काम गरेका छन्। यसैगरी उनले एनआरएन आइसीसीको भाषा,साहित्य सम्वर्द्धन समितिमा समेत रहेर काम गरेका छन्।
नेपालमा रहँदा रेडियो नेपाल, इमेज टेलिभिजन, नेपाल १ टेलिभिजन र हिमालय टाइम्स,राष्ट्रपुकार,नेपालवाणी,नेपाल जागरणलगायतका मिडियामा काम गरेको अनुभव दाहालसंग छ। दाहाल ग्लोब नेपाल डट कमका संस्थापक सम्पादक र ग्लोब नेपाल मिडिया हाउसका अध्यक्ष हुन्।
अमेरिकामा उनी नेपाल अमेरिका पत्रकार संघको निर्वाचित अध्यक्ष भएर काम गरेका छन् भने बाल्टिमोरमा रहेका नेपालीहरुको संस्था बानाको निर्वाचित महासचिव समेत भएर काम गरेका छन्।
अमेरिकामा रहेका नेपालीहरु माझ स्पष्ट वक्ता, सक्रिय सहभागिता र जनसम्पर्क समितिको एक खम्बाको रुपमा दाहालले ख्याति कमाएका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment