आन्दोलनरत पक्षसँग मौखिक सहमतिपछि बीपी राजमार्ग सञ्चालनमा
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३, कालापानीमा प्रदर्शनकारीद्वारा अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ। आन्दोलनरत पक्षसँग स्थानीय प्रशासनको मौखिक सहमति भएपछि बिहानदेखि अवरुद्ध बनेको राजमार्ग खुलेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्।
गत जेठ ११ गते कालापानीस्थित वन क्षेत्रमा बस्ती खाली गराउन सूचना जारी गर्न पुगेका वन कर्मचारीहरूसँग स्थानीयको विवाद उत्पन्न भएको थियो। सोही क्रममा स्थानीयले कर्मचारीहरूलाई राति १२ बजेसम्म नियन्त्रणमा राख्नुका साथै डिभिजन वन कार्यालयको बा.२ झ २७४९ नम्बरको सरकारी गाडीमा आगजनी गरेका थिए।
त्यतिबेला घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने, घाइतेहरूको उपचार राज्यले गर्ने र कसैविरुद्ध मुद्दा चलाएर धरपकड नगरिने सहमति स्थानीय प्रशासनसँग भएको थियो। तर, प्रहरीले हाल घटनामा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएपछि स्थानीय पुनः आन्दोलित बनेका हुन्।
प्रकरणमा चारजनामाथि झुठा मुद्दा लगाइएको भन्दै गत बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले आरोपीहरू निर्दोष रहेको ठहर गर्दै तीन दिनभित्र मुद्दा फिर्ता लिन स्थानीय प्रशासनलाई अल्टिमेटम दिएको थियो। तोकिएको तीनदिने अल्टिमेटम शुक्रबार सकिएपछि स्थानीय सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरू शनिबार बिहानैदेखि सडक चक्काजाम गरी आन्दोलनमा उत्रिएका थिए।
राजमार्ग अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरले घटनास्थलमा पुगी आन्दोलनरत पक्षसँग समन्वय गरेपछि यातायात सेवा पुनः सुचारु भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment