‘ब्रड पिक’ हिमपहिरोमा परी प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि
काठमाडौं। पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको विनाशकारी हिमपहिरोमा परी प्रसिद्ध आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना आरोहीको मृत्यु भएको आधिकारिक पुष्टि भएको छ।
शनिबार ‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले सामाजिक सञ्जालमार्फत घटनामा संलग्न सबै आरोहीहरूको मृत्यु भएको दुःखद जानकारी गराएका हुन्। हिमपहिरोपछि बेपत्ता भएकामध्ये चार जनाको शव शुक्रबार फेला परेको थियो भने बाँकी छ जना अझै बेपत्ता थिए।
ज्यान गुमाउनेमा ६ नेपाली र ४ विदेशी आरोही
यस दुःखद दुर्घटनामा म्याग्दीका पूर्वबेलायती गोर्खा निर्मल पुर्जा ‘निम्स दाइ’सहित छ जना नेपाली आरोहीले ज्यान गुमाएका छन्। मृत्यु हुने अन्य नेपाली आरोहीहरूमा:
-
पुरबहादुर गुरुङ (गोरखा)
-
किलीपेम्बा शेर्पा (दोलखा)
-
ग्यालु शेर्पा (ओखलढुंगा)
-
नवाङ थिन्डु शेर्पा (संखुवासभा)
-
निमा शेर्पा (संखुवासभा)
यसैगरी, दुर्घटनामा परी ज्यान गुमाउने विदेशी आरोहीहरूमा सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान) र म्यालोरी गेइस (अमेरिका) रहेका छन्।
६ हजार मिटर माथिबाट खसेको थियो हिमपहिरो
आरोहणका क्रममा ६ हजार मिटरभन्दा माथिबाट आएको हिमपहिरोले आरोहीहरूलाई करिब ८०० मिटर तलसम्म बगाएको थियो। घटनालगत्तै खराब मौसमका कारण तत्काल उद्धार कार्य सञ्चालन गर्न निकै कठिनाइ भएको थियो।
स्थिति बुझ्न र उद्धार कार्यमा समन्वय गर्न पुर्जाका व्यावसायिक सहकर्मी एवं प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा शुक्रबार नै पाकिस्तान प्रस्थान गरिसकेका छन्।
सन् २०१९ मा संसारका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल मात्र ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेपछि निर्मल पुर्जा विश्वभर चर्चित बनेका थिए। उनहाँका नाममा पर्वतारोहण क्षेत्रका अन्य थुप्रै ऐतिहासिक कीर्तिमानहरू दर्ता रहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment