कांग्रेस विभाजनको संघारमा? देउवा समूहको राष्ट्रिय भेला, शशांकको नेतृत्वमा ५५१ सदस्यीय समिति गठन

डिसी नेपाल
१६ साउन २०८३ १८:५४

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप गहिरिँदै गएको संकेत देखिएको छ। पार्टी सभापति गगन थापाको नेतृत्वले एकताको पहल नगरेको आरोप लगाउँदै पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले अलग राजनीतिक बाटो तय गर्ने तयारीलाई तीव्र बनाएको छ।

यसै तयारीअन्तर्गत देउवा समूहले आगामी साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। भेलाको तयारीबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थापन इतर पक्षका अधिकांश शीर्ष नेताहरू सहभागी भएका थिए।

भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ। साथै राजनीतिक, समसामयिक राजनीतिक, संगठन, विधान मस्यौदा, व्यवस्थापनलगायत विभिन्न जिम्मेवारी समेट्ने १६ वटा तयारी समिति पनि गठन गरिएको नेता मीन विश्वकर्माले जानकारी दिए।

उनका अनुसार छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बोलाएर सबै समितिका संयोजक र सदस्यहरूको टुंगो लगाइनेछ।

आयोजक समितिका संयोजक शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न आफूहरूले लामो समयसम्म धैर्यपूर्वक प्रयास गरे पनि नेतृत्व तहबाट सकारात्मक भूमिका नदेखिएकाले राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको बताए।

उनले भने, “पार्टीभित्र सम्पूर्ण एकताका लागि निरन्तर पहल गर्दा पनि पदीय जिम्मेवारीमा रहेका साथीहरूबाट सार्थक भूमिका नदेखिएपछि नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा शुभेच्छुकहरूमा बढ्दै गएको निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला गर्न बाध्य भएका हौँ।”

कोइरालाका अनुसार राष्ट्रिय भेलामा मुलुकको वर्तमान राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक अवस्थाका साथै पार्टीको संगठनात्मक संरचना, वैचारिक दिशा र भावी रणनीतिबारे विस्तृत छलफल हुनेछ। भेलाले पार्टीलाई नयाँ कार्यदिशा दिने गरी नीतिगत तथा संगठनात्मक निर्णय गर्ने उनको दाबी छ।

पार्टीभित्रको असन्तुष्टि चुलिँदै जाँदा देउवा समूहले राष्ट्रिय भेलापछि आवश्यक परे नयाँ राजनीतिक दल गठनको गृहकार्यसमेत अघि बढाउन सक्ने चर्चा कांग्रेस वृत्तमा सुरु भएको छ। स्रोतका अनुसार कोइराला परिवारको राजनीतिक विरासतलाई केन्द्रमा राख्दै सम्भावित नयाँ संरचनामा शशांक कोइरालालाई नेतृत्वमा अघि सार्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ।

शशांक कोइरालाले कोइराला परिवारका अर्का प्रभावशाली नेता डा. शेखर कोइरालाले पनि आफ्नो अभियानप्रति समर्थन जनाएको दाबी गरेका छन्। उनका अनुसार व्यस्तताका कारण पत्रकार सम्मेलनमा उपस्थित हुन नसके पनि शेखरले अभियानप्रति आफ्नो सहमति रहेको जानकारी दिएका थिए।

यता संस्थापन पक्षले भने देउवा समूहले विशेष महाधिवेशनको प्रक्रिया अस्वीकार गर्दै पार्टी विधानबाहिरका माग अघि सारेकाले सहमतिको सम्भावना कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ। साथै गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले दिएको वैधानिक मान्यताविरुद्ध देउवा समूह पुनः अदालत पुगेपछि दुवै पक्षबीचको दूरी अझ बढेको संस्थापन पक्षको बुझाइ छ।

राष्ट्रिय भेलाको तयारीसँगै नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष निर्णायक मोडमा पुगेको विश्लेषण भइरहेको छ। आगामी साउन २९ गतेको भेला र त्यसपछि हुने निर्णयहरूले पार्टीको भावी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “कांग्रेस विभाजनको संघारमा? देउवा समूहको राष्ट्रिय भेला, शशांकको नेतृत्वमा ५५१ सदस्यीय समिति गठन”

  1. Very good news ,timi haru chhuttiyekai ramro,yesai sakine usai sakine sakikiyeu ab, Bakhra chor lai kasari taha lagau vairahada, kamse kam alik halka ta vayo

Leave a Reply

Your email address will not be published. Required fields are marked *