जनकपुर विवाद समाधानका लागि तीन तहका सरकारबीच छलफल
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको सक्रीयतामा केही दिनदेखि जनकपुरधाममा देखिएको दुई समुदयबीचको विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्ने उद्देश्यले आज तीनै तहका सरकारका प्रतिनिधिबीच महत्वपूर्ण छलफल भएको छ।
गृहमन्त्री गुरुङको निरन्तर पहल र प्रयासपछि जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयको भवनमा मधेश प्रदेश सरकार, स्थानीय तह र संघीय सरकारका प्रतिनिधिबीच छलफल भएको हो।
छलफलमा मधेश प्रदेशका मुख्यमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँगै जनकपुरधाम उपमहानगरपालिकाका मेयर र गृहमन्त्री गुरुङको सहभागिता रहेको थियो। बैठकमा पछिल्ला दिनमा उत्पन्न धार्मिक विवाद, त्यसबाट सिर्जित परिस्थितिसहित सामाजिक सद्भाव कायम गर्ने विषयमा गम्भीर छलफल भएको बताइएको छ।
छलफलका क्रममा हिन्दु सम्राटको प्रतिनिधि टोलीले आफ्ना मागहरू सरकारसमक्ष औपचारिक रूपमा प्रस्तुत गरेको छ। प्रतिनिधि टोलीले राखेका मागपत्र सरकारले बुझेको र ती मागका विषयमा सम्बन्धित निकायसँग आवश्यक छलफल गरी समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
सरकारले प्राप्त मागहरूलाई तत्कालीन परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै सम्बन्धित पक्षसँग छलफल गरेर आवश्यक निर्णयमा पुग्ने जनाएको छ।
छलफलमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै जनकपुरधामको शान्ति–सुरक्षा र सामान्य वातावरणलाई थप मजबुत बनाउने विषयलाई प्राथमिकतामा राखिएको थियो।
गृहमन्त्री गुरुङको पहलमा भएको यस छलफललाई पछिल्लो समय देखिएको विवादलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
सरकारले सबै पक्षलाई संयमित रहन, आपसी सद्भाव कायम गर्न तथा समस्या समाधानका लागि वार्ता र संवादको वातावरण बनाउन आग्रहसमेत गरेको छ।
गृहमन्त्री गुरुङले सबै दललाई एकै ठाउँमा ल्याएर निरन्तर सम्बादको प्रयास गरेका थिए। सोहि अनुरुप आजको सम्बादले सरकार सबै सङ्ग समान शैलिमा सहकार्य गर्न तयार छ भन्ने सन्देश समेत गएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment