कांग्रेसका युवा नेताहरूले सुरु गरे ‘एकता अभियान’: शीर्ष नेतृत्वलाई एक ढिक्का हुन दबाब

डिसी नेपाल
१७ साउन २०८३ १३:५७

काठमाडौं। पार्टीभित्र बढ्दो आन्तरिक किचलो र सम्भावित विभाजनलाई रोक्न नेपाली कांग्रेसका युवा नेताहरूले ‘एकता अभियान’को घोषणा गरेका छन्।

आइतबार काठमाडौंको बानेश्वरमा भेला भएका युवा नेताहरूले ‘राष्ट्रका लागि कांग्रेस, कांग्रेसका लागि एकता’ र ‘देश र कांग्रेस जोड्ने अभियान’ नारामार्फत संयुक्त प्रयासको सुरुवात गरेका हुन्।

पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीभित्र लामो समयदेखि कायम मतभेद, अविश्वास र गुटबन्दीले संगठनलाई कमजोर बनाएको बताए।

उनले कांग्रेस कमजोर हुँदा मुलुकको लोकतन्त्र र राष्ट्रिय हितमाथि नै जोखिम बढ्ने उल्लेख गर्दै एकता कुनै दलगत स्वार्थ नभई राष्ट्रिय दायित्व भएको स्पष्ट पारे।

सुनसरीबाट सुरु भएर मधेशका विभिन्न जिल्लासम्म फैलिएको साम्प्रदायिक तनाव, आर्थिक मन्दी, बेरोजगारी र सुशासनको संकटजस्ता राष्ट्रिय मुद्दाहरू उठाउँदै नेता महरले देश संकटमा परेका बेला कांग्रेस एकताबद्ध हुनुको विकल्प नरहेको धारणा राखे।

कार्यक्रममा अर्का युवा नेता रञ्जित कर्णले आम जनता निराश बनेको वर्तमान परिस्थितिमा कांग्रेस विभाजित हुनु दुर्भाग्यपूर्ण हुने बताए। कांग्रेस आन्तरिक रूपमा कमजोर भए देश नै कमजोर हुने भन्दै उनले संस्थापन र इतर पक्षका शीर्ष नेताहरूलाई व्यक्तिगत स्वार्थ त्यागेर एक ठाउँमा उभिन आग्रह गरे।

अभियानमा सहभागी युवा नेताहरूले पार्टीलाई एकताबद्ध बनाउन शीर्ष नेतृत्वलाई निरन्तर दबाब दिने र देशव्यापी रूपमा एकताको सन्देश लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *