सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न क्षत्री समाज नेपाल गण्डकीको अपिल
पोखरा। क्षत्री समाज नेपाल गण्डकी प्रदेश समितिले मुलुकमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण देशवासीहरूमा हार्दिक अपिल गरेको छ।
केही दिनअघि मधेस प्रदेशको सुनसरीस्थित देवानगञ्जबाट सुरु भएको विवादले दुःखद रूप लिँदै विभिन्न क्षेत्रमा शान्तिपूर्ण वातावरणमा चुनौती सिर्जना भएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै समाजले एक विज्ञप्ति जारी गरेको हो। विज्ञप्तिमा उक्त घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त राष्ट्र भएकाले अनेकताभित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति भएको स्मरण गराउँदै समाजले कुनै पनि बहानामा व्यक्ति र समाजबीच वैमनस्य वा हिंसाको वातावरण सिर्जना हुनु कसैको हितमा नहुने स्पष्ट पारेको छ।
यसैगरी, सामाजिक सञ्जालमा आउने अपुष्ट, भडकाऊ र उत्तेजनात्मक अभिव्यक्ति तथा अफवाहको पछि नलागी शान्तिपूर्ण संवाद र समझदारीका माध्यमबाट समस्याको समाधान खोज्न सम्पूर्ण नागरिकमा आग्रह गरिएको छ।
घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, निर्दोष नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न तथा प्रभावित क्षेत्रमा शीघ्र शान्ति-सुरक्षा बहाल गर्न सरकार, राजनीतिक दल र नागरिक समाजसँग माग गरिएको छ।
समाजका अध्यक्ष इन्द्रमान खत्री, वरिष्ठ उपाध्यक्ष लक्ष्मी अधिकारी र सचिव कृष्णबहादुर घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा मातहतका सम्पूर्ण स्थानीय समितिलाई अफवाह र उत्तेजनात्मक समाचार वा हल्लाबाट संयमित रहँदै क्षेत्रमा शान्ति कायम गर्न सकारात्मक भूमिका निर्वाह गर्न निर्देशनसमेत दिइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment