आरपारको मुडमा दुवै पक्ष, अडान नछाड्दा कांग्रेसमा विभाजनको जोखिम: साउन २४ को बैठक निर्णायक हुने
काठमाडौं। आगामी १५औं महाधिवेशनको कार्यतालिका, विधानको व्याख्या र आन्तरिक शक्ति सन्तुलनलाई लिएर नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक किचलोकाबीच पार्टीले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार आगामी साउन २४ गते आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ।
गत पुस अन्तिम साता काठमाडौंमा भएको विशेष महाधिवेशनपछि सुरु भएको विवादले उग्र रूप लिँदै जाँदा कांग्रेस औपचारिक रूपमै फुटको संघारमा पुगेको विश्लेषण गर्न थालिएको छ। यस्तो संवेदनशील र जटिल मोडमा डाकिएको यस बैठकलाई केवल नियमित औपचारिक प्रक्रिया मात्र नभई कांग्रेसको भावी राजनीतिक अस्तित्व र दिशा तय गर्ने निर्णायक थलोका रूपमा हेरिएको छ।
विशेष महाधिवेशनपछि बनेको आन्तरिक संरचना, वैधानिकता, क्रियाशील सदस्यता अद्यावधिक र नेतृत्व व्यवस्थापनलाई लिएर पार्टीभित्र दुई पक्षबीचको दूरी निकै बढेको छ। पटक-पटक भएका शीर्ष तहका संवाद र छलफलहरू निष्कर्षविहीन बनेपछि संस्थापन र संस्थापनइतर दुवै पक्ष आ-आफ्नो अडानबाट पछि नहट्ने मुडमा देखिएका छन्। दुवै समूह आ-आफ्नै राजनीतिक बाटो तय गर्ने रणनीतिमा लागेपछि कांग्रेसभित्रको आन्तरिक समीकरण थप पेचिलो बनेको छ।
संस्थापन पक्षले आगामी असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने घोषणा गर्दै तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने र विधानका प्राविधिक जटिलता सुल्झाएर अघि बढ्ने अडान राख्दै आएको छ।
यदि साउन २४ को बैठकले ठोस सहमति र सर्वस्वीकार्य कार्यतालिका तय गर्न सकेन भने कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण औपचारिक विभाजनमा परिणत हुने र १५औँ महाधिवेशन पूर्ण रूपमा अन्योलको भुमरीमा फस्ने जोखिम बढेको छ।
अर्कातर्फ, संस्थापनइतर समूहले भने विशेष महाधिवेशनबाट आएको नेतृत्व र प्रक्रियालाई अस्वीकार गर्दै पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारीलाई तीव्र बनाएको छ।
इतर समूहले ५५१ सदस्यीय मूल आयोजक समितिसहित विभिन्न १६ वटा समिति गठन गरेर आफ्नो संगठनात्मक आधार र शक्ति प्रदर्शन गर्ने रणनीति औपचारिक रूपमै अघि बढाएको छ।
दुवै पक्ष आ-आफ्नो अडानमा टसमस नभएपछि र आन्तरिक वैमनस्यता चुलिँदै जाँदा पार्टी विभाजन रोक्न मध्यमार्गी तेस्रो धार सक्रिय भएको छ। पूर्वकेन्द्रीय सदस्य नैनसिंह महर र राष्ट्रियसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरिएको छ।
१४औं महाधिवेशनबाट निर्वाचित तर पछिल्लो संरचनामा नपरेका ३५ जना निवर्तमान केन्द्रीय सदस्यहरू पार्टी एकता बचाउनका लागि पद त्याग गर्नसमेत तयार रहेको घोषणा नेता महरले गरेका छन्। अभियानले साउन २० गते दुवै पक्षका नेताहरूलाई एकै ठाउँमा राखेर पार्टी नफोड्न कडा दबाब दिने कार्यक्रम तय गरेको छ।
यता, इतर पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको मूल आयोजक समितिमा आफ्नो नाम विनाअनुमति राखिएको भन्दै भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले सार्वजनिक रूपमै आपत्ति जनाउँदै वैधानिक संरचना बाहिरका विभाजनकारी गतिविधिमा सहभागी नहुने स्पष्ट पारिसकेका छन्।
साउन २४ गते बस्ने केन्द्रीय समिति बैठकमा असोजमा प्रस्तावित महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा तोक्ने, विधानमा देखिएका बाधा-अड्काउ फुकाउने वा अक्षरशः पालना गर्ने भन्ने विवाद सुल्झाउने तथा इतर पक्षले बोलाएको साउन २९ को राष्ट्रिय भेलालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा तीव्र बहस हुने निश्चित छ।
क्रियाशील सदस्यताको प्राविधिक चटारो र गुटबन्दीको राजनीतिक तानतानका बिच महाधिवेशनलाई निष्पक्ष र सर्वस्वीकार्य बनाउनु नेतृत्वका लागि इतिहासकै ठूलो परीक्षा हुनेछ।
यदि साउन २४ को बैठकले ठोस सहमति र सर्वस्वीकार्य कार्यतालिका तय गर्न सकेन भने कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण औपचारिक विभाजनमा परिणत हुने र १५औँ महाधिवेशन पूर्ण रूपमा अन्योलको भुमरीमा फस्ने जोखिम बढेको छ।
No ads found for this position



डिसी नेपाल
Very good news for Gagan jiu, Let them go, Budho team haru lai jana diye hunchha yeen le ab kei nepardaina ,yee thotra haru chhuttna diye hunchha, sada ko lagi ramro babasthapan hunchha, aba yeen ka kunnai future, chhainna tetai thanko lagchha. very good kei nasodhe hunchha.