तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

डिसी नेपाल
१८ साउन २०८३ ८:१८

काठमाडौं। चान्द्रमानअनुसार श्रावण महिनाको तेस्रो सोमबार आज बिहानैदेखि काठमाडौंस्थित पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको उल्लेखनीय भीड लागेको छ। बिहान सबेरैदेखि भक्तजनहरू भगवान् शिवको पूजा, जलाभिषेक र दर्शनका लागि मन्दिर पुगेका छन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनको सहज आवतजावत र दर्शन व्यवस्थापनका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएको छ। दर्शनार्थीको चापलाई व्यवस्थित गर्न चारवटा छुट्टाछुट्टै लामको व्यवस्था गरिएको छ भने सुरक्षा, स्वास्थ्य र स्वयंसेवक परिचालनलाई समेत प्रभावकारी बनाइएको छ।

यस वर्ष पनि ‘बोल बम’ यात्रा गर्ने भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। उनीहरूका लागि छुट्टै प्रवेश तथा आवश्यक सहजीकरणको व्यवस्था मिलाइएको कोषले जनाएको छ। बिहानैदेखि हर हर महादेव र बोल बमको जयघोषले पशुपति क्षेत्र गुञ्जायमान बनेको छ।

पशुपतिनाथ मन्दिरसँगै काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रस्थित ‘सानो पशुपतिनाथ’ भनेर चिनिने मक्खन महादेवलगायतका शिवालयमा पनि भक्तजनको लाम लागेको छ। उपत्यकाबाहिरका प्रमुख शिव मन्दिरहरूमा समेत बिहानदेखि श्रद्धालुको भीड देखिएको छ।

श्रावण महिनाका सोमबारहरू भगवान् शिवको आराधनाका लागि विशेष महत्त्वका मानिन्छन्। धार्मिक विश्वासअनुसार यस दिन व्रत बसेर शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो र अन्य पूजासामग्री अर्पण गरी पूजा–आराधना गरे मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ।

भक्तजनको अत्यधिक चापलाई मध्यनजर गर्दै सम्बन्धित निकायले दर्शनका क्रममा अनुशासन कायम गर्न, सुरक्षाकर्मी र स्वयंसेवकको निर्देशन पालना गर्न तथा भीडभाडमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *