दाह्रा काटिएपछि निकुञ्जभित्रै ध्रुर्वे हात्ती: जिपीएस भूउपग्रहबाट हरेक १० मिनेटमा अनुगमन
चितवन। मानव-वन्यजन्तु द्वन्द्व बढाउँदै बस्ती पसेर दुःख दिने चर्चित जङ्गली हात्ती ‘ध्रुर्वे’ दाह्रा काटिएपछि पनि चितवन राष्ट्रिय निकुञ्जभित्रै सीमित भएको छ। जनधनको क्षति गराएपछि नियन्त्रणमा लिएर गत असार ३१ गते सुखिभार पोष्ट नजिक दुवै दाह्रा काटिनुका साथै नयाँ ‘रेडियो कलर’ जडान गरिएको थियो।
निकुञ्जका संरक्षण अधिकृत प्रवीन पौडेलका अनुसार दाह्रा काटिएपछि ध्रुर्वे मुख्यतया निकुञ्ज क्षेत्रभित्रै बसिरहेको छ। यद्यपि, आइतबार बिहान माडीको रिउखोला आडमा रहेको अमेलिया कृषि फर्म नजिक पुगेको भए पनि त्यसबाहेक बस्ती छिरेर अन्य क्षति पुर्याएको छैन। हात्तीको जोखिमलाई ध्यानमा राख्दै निकुञ्ज प्रशासन र नेपाली सेनाको अपरेसन युनिटले ‘रेडियो कलर’को माध्यमबाट हरेक १०/१० मिनेटमा उसको लोकेसन अनुगमन गरिरहेका छन्।
हात्ती बस्ती नजिक आइपुग्नेबित्तिकै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय र स्थानीय बासिन्दालाई तत्काल सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।
“डार्ट (निश्चेतक औषधि) प्रयोग गरिएकाले हात्ती अहिले केही शिथिल देखिए पनि उसको भर हुँदैन,” संरक्षण अधिकृत पौडेलले भने, “बस्ती पस्नेबित्तिकै सुरक्षा निकायको टोलीले निकुञ्जतर्फ धपाउने गरी उच्च सतर्कता अपनाइएको छ।”
२५ जनाको ज्यान लिइसकेको ध्रुर्वेको गतिविधि नियन्त्रण गर्न चौथो पटक दाह्रा काट्ने र रेडियो कलर फेर्ने काम गरिएको हो। गत असार २० गते राति माडीमा एकै परिवारका दुई जनाको ज्यान लिएपछि निकुञ्जले फेरि नियन्त्रणको कदम चालेको थियो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार मुख्य बथानबाट लखेटिएपछि ध्रुर्वे बहुलाएर बस्तीतर्फ आउने गरेको अनुमान छ।
वि.सं. २०६९ मा एकै महिनामा चार जनाको ज्यान लिएपछि तत्कालीन जिल्ला प्रशासनले ध्रुर्वेलाई मार्ने आदेशसमेत दिएको थियो। तर, सेनाको गोलीबाट बचेको यो हात्ती चितवन निकुञ्जको इतिहासमै सबैभन्दा बढी जनधनको क्षति पुर्याउने हात्तीका रूपमा चिनिन्छ। हाल निकुञ्जभित्र ध्रुर्वेसहित रोनाल्डो, गोविन्देजस्ता ४५ देखि ५० वटा जंगली हात्ती रहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment