साउनमा भरिभराउ सन्तानेश्वर: विश्वभरका धार्मिक पर्यटक भित्र्याउने लक्ष्य

डिसी नेपाल
१९ साउन २०८३ १२:२६

ललितपुर। काठमाडौं सिनामङ्गलकी सिर्जना रोका करिब सात वर्षअघि ललितपुरको गोदावरी नगरपालिका-१३ स्थित सन्तानेश्वर महादेव मन्दिरमा दर्शनका लागि पुगेकी थिइन्।

लामो समयसम्म सन्तान नभएपछि उहाँले त्यहाँ पुगेर सन्तान प्राप्तिको कामना गर्नुभएको थियो। विधिपूर्वक पूजा गरेर फर्किएको डेढ वर्षपछि उनले सन्तान प्राप्त गरिन्। “जे मागेकी थिएँ, त्यो पूरा भयो; त्यसैले सन्तानेश्वर महादेवप्रति मेरो गहिरो विश्वास छ,” उनले आफ्नो अनुभव सुनाइन्। साउनको तेस्रो सोमबार दर्शनका लागि पुग्नुभएकी उर्मिला थापा पनि यहाँ आएर श्रद्धापूर्वक मागेका इच्छा पूरा हुने विश्वास व्यक्त गर्नुहुन्छ।

समुद्री सतहबाट १,५०७ मिटरको उचाइमा अवस्थित सन्तानेश्वर महादेव मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गएको छ। विशेष गरी साउन महिनाका हरेक सोमबार मन्दिर प्राङ्गण भक्तजनको बाक्लो उपस्थिति र घुइँचोले भरिभराउ हुने गरेको छ।

गर्भगृहमा सन्तानेश्वर महादेवको शिलास्वरूप रहेको यस मन्दिरको छुट्टै धार्मिक तथा पौराणिक महत्त्व छ। पौराणिक कालमा बाह्रवटै राशीहरूले यस स्थानमा आएर शिवजीको तपस्या र आराधना गरेकाले यस ठाउँको नाम ‘झरुवारासी’ रहन गएको जनविश्वास छ। त्यस्तै द्वापरयुगमा श्रीकृष्णले सन्तान प्राप्तिका लागि यहीँ आएर तपस्या गरेपछि प्रत्येक पत्नीबाट १० छोरा र एक छोरी प्राप्त भएको पौराणिक किंवदन्ती छ।

मन्दिरका पुजारी गङ्गाराम गौतमका अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा यहाँ उहाँको माथिल्लो ओठ पतन भई सन्तानेश्वर महादेव उत्पत्ति भएको विश्वास गरिन्छ।

“मेचीदेखि महाकालीसम्म मात्र नभई विदेशबाट समेत सन्तान प्राप्तिको भाकल बोकेर दम्पतीहरू यहाँ आउने गर्नुहुन्छ,” पुजारी गौतमले बताए। साउनका सोमबारबाहेक हरितालिका तीज, जनैपूर्णिमा र नयाँ वर्षमा पनि यहाँ भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।

धार्मिक विश्वाससँगै मन्दिरको भौतिक पूर्वाधार विकासमा पनि ठूलो सुधार गरिएको छ। सन्तानेश्वर महादेव मन्दिर कैलाश पर्वत संरक्षण तथा संवद्र्धन सेवा सङ्घका पवन रावलका अनुसार २०६८ सालमा गुरुयोजना बनाएरै मन्दिर क्षेत्रको विकास अघि बढाइएको हो।

गोदावरी नगरपालिका-१३ का वडाध्यक्ष भास्कर थापाले नगरपालिका र मन्दिर व्यवस्थापन सङ्घको संयुक्त पहलमा ५०-५० प्रतिशतको लागत साझेदारीमा पूर्वाधार निर्माणका कामहरू भइरहेको जानकारी दिए।

मन्दिरलाई विश्वभरका धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनाउने लक्ष्यका साथ बजेट विनियोजन गरी विकास निर्माणका काम निरन्तर अघि बढाइएको उनको भनाइ छ।

ललितपुरको सातदोबाटोबाट बाँडेगाउँ हुँदै, ठैव वा चापागाउँ दोबाटोबाट बज्रबाराही भएर तथा सुमेरु अस्पताल र नागदहको मार्ग प्रयोग गरी सन्तानेश्वर मन्दिर सजिलै पुग्न सकिन्छ। साउन महिनाभर मन्दिरमा विभिन्न धार्मिक अनुष्ठान तथा कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *