देशभर मनसुन सक्रिय: हिमाली क्षेत्रमा हिमपात, धेरैजसो प्रदेशमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
२० साउन २०८३ ६:५५

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक अवस्थित छ।

यतिबेला देशभर साधारणतया बदली रहेको छ। कोशी र कर्णाली प्रदेशका केही स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भूभागका धेरै स्थान तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

साथै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना कायम रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्छ।

यस्तै, रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी एवम् तराई भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले भारी वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई बाढी, पहिरो तथा डुबानको जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *