भन्सार छलेर अवैध स्कुटर भित्र्याउने क्रम बढेपछि कञ्चनपुरमा प्रशासनको कडाइ

डिसी नेपाल
२० साउन २०८३ ७:३३

महेन्द्रनगर।कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर भित्र्याउने र दर्ताबिना नै चलाउने क्रम बढेपछि स्थानीय प्रशासनले निगरानी तथा कारबाही तीव्र पारेको छ।

खुला सीमा नाकाको फाइदा उठाउँदै भारतबाट गैरकानुनी रूपमा नयाँ स्कुटर भित्र्याउने क्रम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा सक्रियता बढाएका हुन्। यसै क्रममा पछिल्लो एक महिनामा मात्रै भन्सार छलेर ल्याइएका र दर्ता नगरी सञ्चालन गरिएका १२ वटा इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिई कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालयमा बुझाइएको छ।

भन्सार छल्ने उद्देश्यले सवारी साधन आयात गर्नु प्रचलित कानुनविपरीत भएकाले नियन्त्रणमा लिइएका ती स्कुटरहरूलाई कानुनी प्रक्रिया पूरा गरेर लिलाम गरिने कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टले जानकारी दिए।

नयाँ स्कुटर अवैध रूपमा भित्रिन नदिन प्रहरी प्रशासनको सहयोगमा नाकाहरूमा सक्रियता बढाइएको र भित्रिसकेका स्कुटरको दर्तालगायत विषयमा प्रशासनिक तहमा छलफल गरी समाधान खोजिने उनले बताए। उनका अनुसार पछिल्लो १० वर्षमा कञ्चनपुर नाका हुँदै करिब पाँच हजार इलेक्ट्रिक स्कुटर आयात भइसकेका छन्।

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार भन्सार छलेर ल्याइएका र दर्ताबिना चलाइएका स्कुटरका कारण सडक दुर्घटनाको जोखिमसमेत बढेको छ। त्यसैले अवैध रूपमा आयातित स्कुटरमाथि कडाइ गर्दै सबै इलेक्ट्रिक स्कुटरलाई अनिवार्य रूपमा दर्ता प्रक्रियामा ल्याएर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन लागिएको छ।

नेपालभर विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको बिक्री र प्रयोग बढ्दो क्रममा रहेका बेला कञ्चनपुरमा भने भारतीय बजारबाट लाखौँ मूल्य पर्ने स्कुटर खरिद गरी भन्सार नतिरी भित्र्याउने र दर्ताबिना चलाउने प्रवृत्ति बढेको छ।

यसले एकातिर राजस्वमा घाटा पुर्‍याएको छ भने अर्कोतिर सडक सुरक्षा र व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको छ। यही अवस्थालाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले आफ्नो निगरानीलाई अझ बढी प्रभावकारी बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *