नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड सहभागी हुने, ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक गरिँदै

डिसी नेपाल
२० साउन २०८३ ८:०७

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी साधन (ईभी) को आकर्षण तीव्र रूपमा बढिरहेका बेला आयोजना हुन लागेको ‘नाइमा मोबिलिटी एक्स्पो’मा नयाँ प्रविधि र अत्याधुनिक उत्पादनको दबदबा देखिने भएको छ। एक्स्पोमा सहभागी ५५ वटा ब्रान्डमध्ये अधिकांशले विद्युतीय सवारी तथा भावी मोबिलिटी प्रविधिलाई मुख्य प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेका छन्।

नाइमा मोबिलिटी एक्स्पोका आयोजक टोलीका सदस्य शिशिरकुमार मुरारकाका अनुसार यस पटक ५२ वटा स्टलमार्फत ५५ ब्रान्ड सहभागी हुनेछन् भने करिब ४० वटा नयाँ उत्पादन तथा मोडल पहिलो पटक सार्वजनिक गरिनेछन्।

“यस पटक नयाँ मोडलहरूको सार्वजनिकीकरण (लन्च) नै एक्स्पोको मुख्य आकर्षण हुनेछ। ग्राहकले नयाँ प्रविधि, अत्याधुनिक मोडल र भविष्यमा आउने सवारी प्रविधि एउटै प्लेटफर्मबाट अवलोकन गर्न पाउनेछन्,” मुरारकाले भने।

नेपालमा ईभी बजार द्रुत गतिमा विस्तार भइरहेका बेला यो एक्स्पोले विद्युतीय सवारी, चार्जिङ प्रविधि, नयाँ डिजाइन र ‘स्मार्ट मोबिलिटी’ समाधानबारे उपभोक्तालाई विस्तृत जानकारी दिने आयोजकको विश्वास छ।

भविष्यका प्रविधि र नयाँ अवधारणाको साक्षत्कार

एक्स्पोमा हाल नेपालमा बिक्री भइरहेका सवारी साधन मात्र नभई भविष्यमा बजारमा आउन सक्ने सम्भावित प्रविधिका मोडलहरू समेत प्रदर्शन गरिनेछ।

मुरारकाका अनुसार कतिपय ब्रान्डले भविष्यका प्रविधि देखाउन नयाँ अवधारणा (कन्सेप्ट) का सवारी ल्याउँदैछन्। चीन र भारतमा विकास भइरहेका ईभी तथा अन्य सवारी प्रविधिलाई नेपाली ग्राहकले प्रत्यक्ष हेर्न पाउनेछन्। केही ब्रान्डहरूले ‘लेफ्ट ह्यान्ड ड्राइभ’का मोडलहरूसमेत प्रदर्शन गर्ने तयारी गरेका छन्, जसले भविष्यमा नेपाल भित्रिन सक्ने प्रविधिको सङ्केत गर्नेछ।

एउटै छानामुनि फाइनान्स, बीमा र एक्सचेन्ज सुविधा

नेपाली उपभोक्ताले विशेषगरी दशैँ-तिहार जस्ता पर्वका अवसरमा सवारी खरिद गर्ने परम्परा रहेकाले यो एक्स्पोले खरिद निर्णय लिन ठूलो सहयोग पुर्‍याउनेछ। एक्स्पोमा बैंक, बीमा कम्पनी तथा एक्सचेन्ज पार्टनरहरूको समेत सहभागिता रहनेछ। यसबाट ग्राहकले सवारी खरिदसँग सम्बन्धित वित्तीय सुविधा, बीमा र पुरानो सवारी साटेर नयाँ लिने (एक्सचेन्ज) सुविधा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्।

हाल बैंकिङ क्षेत्रमा ब्याजदर तुलनात्मक रूपमा कम र सस्तो रहेकाले ग्राहकका लागि सवारी साधन खरिद गर्ने यो उपयुक्त र अनुकूल समय रहेको मुरारकाको भनाइ छ।

सर्भिस र स्पेयर पार्ट्स व्यवस्थापनमा सुधार

नेपालमा ईभीको सङ्ख्या बढेसँगै सर्भिस सेन्टर र स्पेयर पार्ट्सको उपलब्धतालाई लिएर केही चुनौती देखिए पनि कम्पनीहरूले यसमा द्रुत सुधार गरिरहेको मुरारकाले बताए। सीमा क्षेत्रका सडक अवरोध वा अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा आउने ढिलाइका कारण कहिलेकाहीँ सामान आउन केही समय लागे पनि गाडी बिक्रीपछि सेवा नै नपाउने अवस्था नरहेको उनले स्पष्ट पारे।

पार्किङ र डिजिटल टिकटको विशेष व्यवस्था

आगन्तुकको सहजताका लागि यस पटक पार्किङ र टिकट व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। भृकुटीमण्डपको विपरीततर्फ रहेको ‘ब्लु प्याभिलियन’लाई एक्स्पो अवधिभर पार्किङ स्थलका रूपमा प्रयोग गरिनेछ।

त्यस्तै, टिकट खरिदका लागि डिजिटल व्यवस्था गरिएको छ। सर्वसाधारणले ‘खल्ती बाई आईएमई’ मार्फत अनलाइन टिकट खरिद गर्न सक्नेछन्। युनियन पेबाट भुक्तानी गर्दा क्यासब्याक तथा विद्यार्थीहरूका लागि प्रवेश टिकटमा विशेष छुटको व्यवस्था समेत गरिएको छ। नाइमा मोबिलिटी एक्स्पो केवल सवारी प्रदर्शनी मात्र नभई नेपालमा भित्रिँदै गरेको नयाँ अटो प्रविधि र भविष्यको यात्राबारे जानकारी दिने महत्त्वपूर्ण मञ्च बन्ने आयोजकको दाबी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *