काठमाडौंतर्फ आउँदै गरेका दुई सवारीबाट लागूऔषध बरामद, पाँच जना पक्राउ

डिसी नेपाल
२० साउन २०८३ ८:३४

काठमाडौं । प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमान क्षेत्रमा लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। अलग–अलग कारबाहीमा खैरो हेरोइनजस्तो देखिने पदार्थ र ठूलो परिमाणमा ट्रामाडोल ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

पहिलो घटनामा, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०५–००१ ज ००८६ नम्बरको हायसमा सवार सिराहाको मिर्चैया नगरपालिका–५ निवासी २० वर्षीय सन्देश यादवलाई पक्राउ गरेको हो। उनको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४५ ग्राम १९० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सो लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा बा.प्र.०२–०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका–७ निवासी २० वर्षीय राहुल कुमार मण्डल र सिराहाको कल्याणपुर नगरपालिका–६ निवासी २० वर्षीय अभिषेक कुमार साहलाई पनि नियन्त्रणमा लिइएको छ।

यसैबीच, सोही दिन बिहान सिन्धुलीको भिमान क्षेत्रमा गरिएको अर्को कारबाहीमा मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ३७१२ नम्बरको हायसमा सवार दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–६ निवासी ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका–१७ निवासी २४ वर्षीय सागर कार्की रहेका छन्। उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ८२० मिलिग्राम तथा नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४३० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद लागूऔषध, सवारी साधन तथा पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर लागूऔषध कारोबारको सञ्जाल, स्रोत र संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *