कर्मचारी हटाएर एआईलाई म्यानेजर बनाइयो, एआइले देखायो चर्तिकला, कम्पलीलाई ठूलो घाटा
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सले आज हरेक क्षेत्रमा तीव्र गतिमा आफ्नो पकड जमाइरहेको छ। धेरै कम्पनीहरूले आगामी दिनहरूमा एआईले मानिसको काम सहज बनाउने दाबी गर्दै आएका छन्। तर, के एउटा सिङ्गो रिटेल स्टोर (खुद्रा पसल) पूर्ण रूपमा एआईकै भरमा सञ्चालन हुन सक्छ? अमेरिकामा गरिएको एक अनौठो प्रयोगले यस प्रश्नको उत्तर दिएको छ।
अमेरिकामा एउटा यस्तो रिटेल स्टोर सुरु गरियो, जहाँ कुनै पनि मानिसलाई म्यानेजर बनाइएन। सिङ्गो स्टोरको जिम्मेवारी एउटा एआई प्रणालीलाई सुम्पियो। कर्मचारीहरूलाई बिदा लिन, आराम गर्न र कुनै समस्या परे एआईसँग परामर्श गर्न भनियो। सुरुआतमा यो प्रयोग निकै रोचक लागे पनि केही महिनामै यसको नतिजा भने उल्टो आयो र कम्पनीले करिब ९४ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्नुपर्यो।
यो प्रयोग एउटा अनुसन्धानमूलक कम्पनी ‘एन्थ्रोपिक’ ले गरेको थियो। कम्पनीले आफ्नो एआई मोडल ‘क्लाउडे’ लाई एउटा सानो रिटेल स्टोरको म्यानेजर बनाएको थियो। उक्त एआईको नाम ‘क्लुडियस’ राखिएको थियो। यस एआईको जिम्मेवारी स्टोरका सम्पूर्ण कार्यहरू सम्हाल्नु थियो। जसमा सामान अर्डर गर्ने, स्टकको हिसाब राख्ने, ग्राहकहरूको माग बुझ्ने, मूल्य निर्धारण गर्ने र कर्मचारीहरूलाई निर्देशन दिने जस्ता सबै जिम्मेवारीहरू समावेश थिए। कम्पनीले कुनै पनि मानवीय हस्तक्षेपविना एआईले पसल चलाउन सक्छ कि सक्दैन भनेर हेर्न चाहेको थियो।
स्टोरमा काम गर्ने कर्मचारीहरूलाई कुनै समस्या भए एआईसँग सोध्न प्रस्ट भनिएको थियो। आवश्यकता पर्दा बिदा लिन पनि छुट दिइएको थियो। एआईले कर्मचारीहरूलाई अक्सर ‘धेरै तनाव नलिनुहोस् र आरामले काम गर्नुहोस्’ भन्ने गर्थ्यो। सुन्दा यो तरिका निकै राम्रो लागे पनि दैनिक निर्णयहरू लिनुपर्ने बेला भने वास्तविक चुनौतीहरू देखा परे।
एआईले धेरै पटक अर्थहीन र तर्कहीन निर्णयहरू लिन थाल्यो। उदाहरणका लागि, उसले केही सामानहरू आवश्यकताभन्दा बढी मगायो भने केही अत्यावश्यक सामानहरूको स्टक समयमै मगाएन। यति मात्र होइन, एआईले ग्राहकहरूका अनौठा-अनौठा मागहरू पनि सहजै स्वीकार गर्थ्यो। धेरै पटक उसले नसोची-नबुझी निकै सस्तो मूल्यमा सामानहरू बेचिदियो, जसका कारण कम्पनीलाई घाटा हुन थाल्यो। प्रतिवेदनअनुसार ग्राहकलाई खुसी राख्नु जत्तिकै रिटेल स्टोरमा नाफा कमाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने कुरा एआईले बुझ्नै सकेन।
यस प्रयोगका क्रममा अर्को एउटा अचम्मको घटना पनि घटेको थियो। स्टोरको प्रचारप्रसार गर्नका लागि एआईले सामाजिक सञ्जाल (सोसल मिडिया) अकाउन्टको प्रयोग गर्नुपर्ने थियो, तर उसले आफ्नै अकाउन्टको पासवर्ड बिर्सियो। उसले कर्मचारीहरूसँग मद्दत माग्यो र धेरै पटक अलमलमा परेर गलत जवाफहरूसमेत दियो।
यसबाट एआई अझै पनि धेरै व्यावहारिक परिस्थितिहरूमा मानिसजत्तिकै सक्षम भइनसकेको प्रस्ट भयो। प्रतिवेदनअनुसार, केही अवसरहरूमा एआईले कर्मचारीहरूलाई प्रश्नसँग कुनै सम्बन्ध नै नभएका उत्तरहरू दिएको थियो। धेरै पटक उसले आफ्नै भनाइहरू परिवर्तन गर्थ्यो। यसले गर्दा कुन निर्देशनको पालना गर्ने भन्नेबारे कर्मचारीहरूलाई बुझ्न गाह्रो भयो। अर्थात् एआईले सूचना त दिन सक्छ, तर हरेक परिस्थितिमा सही निर्णय लिनु उसका लागि अझै पनि सहज छैन।
यो प्रयोग करिब चार महिनासम्म चलेको थियो। यस अवधिमा स्टोरलाई लगभग ९४ लाख रुपैयाँको नोक्सानी भयो। अन्ततः कम्पनीले पूर्ण रूपमा एआईको भरमा मात्र व्यापार चलाउन अहिले सम्भव नरहेको स्वीकार गर्नुपर्यो।
यद्यपि, यस प्रयोगबाट कम्पनीलाई एआईका सबल र दुर्बल पक्षहरू बुझ्न निकै मद्दत मिलेको छ। यस प्रयोगसँग जोडिएका अनुसन्धानकर्ताहरूका अनुसार भविष्यमा व्यवसायका लागि एआई अत्यन्तै उपयोगी साबित हुन सक्छ, तर अहिल्यै उसलाई पूर्ण रूपमा म्यानेजर वा ‘प्रमुख’ बनाउनु हतारो हुनेछ।
उनीहरूको भनाइमा एआई मानिसलाई सहयोग गर्ने उत्कृष्ट औजार (टुल) बन्न सक्छ। यसले डाटा विश्लेषण गर्ने, प्रतिवेदन तयार पार्ने र अन्य साना-ठूला कामहरू तीव्र गतिमा गर्न सक्छ। तर, जहाँ समझदारी, अनुभव र परिस्थितिअनुसार निर्णय लिनुपर्ने हुन्छ, त्यहाँ मानिसकै भूमिका अझै पनि सबैभन्दा महत्त्वपूर्ण रहन्छ।
यो सम्पूर्ण प्रयोगबाट एउटा कुरा प्रस्ट भएको छ कि एआई प्रविधि तीव्र गतिमा अगाडि बढिरहेको छ, तर अहिले नै उसले हरेक जिम्मेवारी एक्लै सम्हाल्न सक्दैन। खास गरी व्यापार सञ्चालन गर्ने, ग्राहकका आवश्यकता बुझ्ने र सही समयमा सही निर्णय लिने जस्ता कार्यहरूमा मानवीय अनुभवको आवश्यकता यथावत् छ। अर्थात्, हालका लागि एआईलाई मानिसको विकल्पका रूपमा नभई एउटा सहयोगीका रूपमा हेर्नु बढी उपयुक्त हुनेछ। आगामी दिनहरूमा एआई र मानिसले मिलेर काम गर्नेछन्, तर सम्पूर्ण जिम्मेवारी एआईलाई मात्र सुम्पनु अहिलेका लागि जोखिमपूर्ण साबित हुन सक्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment