गोलबजार घटनाको प्रारम्भिक छानबिन सम्पन्न, उच्चस्तरीय टोली काठमाडौं फिर्ता
सिरहा। सुनसरी घटनापछि सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गणेश यादवको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय समितिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी काठमाडौं फर्किएको छ।
गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा खटिएको छानबिन टोलीले तीन दिनसम्म सिरहामा स्थलगत निरीक्षण, तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गरेको थियो। अनुसन्धानको प्रारम्भिक चरण पूरा गरेपछि टोली काठमाडौं फर्किएको हो।
गृह मन्त्रालयका उपसचिव तथा समितिका सदस्यसचिव कुलशेखर अर्यालका अनुसार टोलीले विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, स्थानीय समुदाय, प्रत्यक्षदर्शी, सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी घटनासम्बन्धी आवश्यक जानकारी संकलन गरेको छ।
टोलीले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई धरान पुगेर भेटघाटसमेत गरेको थियो। उपचारमा संलग्न चिकित्सकहरूको भनाइ उदृत गर्दै उपसचिव अर्यालले घाइतेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र दुई–तीन दिनभित्र अस्पतालबाट डिस्चार्ज गरिने जानकारी प्राप्त भएको बताए।
समितिले तोकिएको समयसीमाभित्र गृह मन्त्रालयमा विस्तृत प्रतिवेदन पेश गर्ने तयारी गरिरहेको जनाएको छ। यसअघि टोलीले सोमबार घटनास्थलको निरीक्षण गरेको थियो भने मंगलबार गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित सर्वदलीय बैठकमा सहभागी भई राजनीतिक दलका प्रतिनिधिबाट घटनाबारे थप जानकारी तथा सुझाव संकलन गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment